नलिन्चोकको हेलिपोर्ट निर्माणमा भएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा बिशेष अदालतको आदेशमा असन्तुष्टि जनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालत गएको छ। मुद्दाका प्रतिवादीहरू नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारी र उप–प्रबन्धक नलविक्रम थापालाई न्यूनतम धरौटीमा छाडेको भन्दै अख्तियारले त्यसविरुद्ध सर्वाेच्च अदालतमा बेरितको निवेदन दर्ता गरेको छ।
विशेषले भण्डारीलाई पाँच लाख तथा थापालाई दुई लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। १३ करोड ५७ लाख ४६ हजार रुपैयाँ बिगो रहेको मुद्दामा न्यून धरौटी माग भएपछि अख्तियार विशेषको थुनछेक आदेशप्रति असन्तुष्ट भएको हो । सोही भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महाप्रबन्धक प्रदीप अधिकारीलाई भने विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाइको थियो।
सम्भाव्यतासमेत अध्ययन नगरी नलिन्चोकमा हेलिपोर्टको निर्माण गरिएको दाबीसहित अख्तियारले गत १७ मंसिरमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
परामर्शदाता साधरण तारेखमै छुटे
नलिन्चाेक हेलिपोर्ट भ्रष्टाचार मुद्दाका प्रतिवादी रहेका परामर्शदाता गुरुदत्त अधिकारी साधरण तारेखमै रिहा भएका छन्। बुधबार विशेष अदालतमा उपस्थित भएका उनलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले साधरण तारेखमा राख्ने आदेश दिएको हो। अधिकारीलाई आयोगले १३ करोडै बिगो दाबी गरी मुद्दा दायर गरेको थियो ।