सैनिक मञ्चको दक्षिण चउर सुधार गर्दै काठमाडौं महानगरपालिका : दुई करोड ७० लाख रुपैयाँ खर्च गरेर बरमुढा ग्रास रोपिँदै

खुला ठाउँलाई सर्वसाधारणको व्यवस्थित प्रयोग बढाउन लगानी

मंगलबार, १३ माघ, २०८२
डिजिटल संस्करण

सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौं महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरूका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरूका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रूपमा उपयोग भएको छ । समयसमयमा सार्वजनिक कार्यक्रम पनि हुने गरेका छन् । सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो ।

६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्नका लागि दुई करोड ७० लाख रुपैयाँ खर्च लाग्नेछ । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई ०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ ।

सार्वजनिक निर्माण विभागका वरिष्ठ इन्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर तीन इन्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराइ र १.२ मिटर व्यासका आठवटा अकासेपानी संकलन पिट हुनेछन् ।

यसबाट खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

सुझावित समाचार