चिसो बढेसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा बढ्न थालेको छ । काठमाडौंमा दिउँसो घाम लाग्दा न्यानो हुने गरेको छ । तर, साँझ–बिहान अत्यधिक चिसो छ।
यही वेला धुलोधुवाँका कणले आकाश ढाक्न थालेको छ । दिउँसो घाम लागे पनि मधुरो प्रकाश छ भने साँझ–बिहान आकाश तुवाँलोले ढाक्ने गरेको छ।
मंगलबार साँझ ७ बजे काठमाडौंमा वायु प्रदूषणको मात्रा औसतमा (एक्युआई) १३९ पुगेको छ । यो सूचकांक सोमबार १०८ थियो। वायु प्रदूषणको तथ्यांक राख्ने र विश्लेषण गर्दै आएको संस्था, आइक्यु एयरका अनुसार मंगलबार काठमाडौंमा सबैभन्दा धेरै लाजिम्पाट स्टेसनमा वायु प्रदूषणको मात्रा १५६ पुगेको छ । बाहगलमा १५३, क्षेत्रपाटीमा १५०,बालुवाटारमा १३० र बालाजुमा १२२ पुगेको छ। त्यस्तै, गोल्फुटारमा ११८, कुपोन्डोलमा ११४ र गौशालामा १०५ पुगेको छ।
यस्तो सूचकांक १०० देखि १५० पुग्नुलाई बालबालिका तथा वृद्धका लागि तथा श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरूका लागि अस्वस्थकर मानिन्छ भने १५० देखि २०० सम्मलाई सबै उमेर समूहलाई स्वास्थ्य समस्या देखिन सक्ने हुन्छ र घरबाहिर धेरै समस्या बिताउन नहुने भनिन्छ । बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोग लागेकाहरुलाई समस्या हुने गर्छ।
वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछनेका अनुसार अहिले चिसो बढेकाले पनि प्रदूषण बढिरहेको हो । ‘चिसो बढेको छ। हावा चलेको छैन, पानी परेको छैन,’ उनले भने, ‘धुलोधुवाँका कण वायुमण्डलमा तैरिएर बसेका छन् । आकाश सफा हुन नसक्दा प्रदूषणको मात्रा बढेको हो।’ चिसोका कारण काठमाडौंमा तापक्रम पनि घटेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार काठमाडौंको अधिकतम तापक्रम १७.२ र न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ।
मौसम पूर्वामानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभरको तापक्रम घटेको छ। तर, काठमाडौंमा घाम लागे पनि उपत्यका रहेकाले धुलोधुवाँका कण तैरिएर बसेका छन् । ‘धुलोधुवाँका कण बढार्न हावा चल्नुपर्याे वा पानी पर्नुपर्याे । तर, अहिले दुवै सम्भावना छैन,’ उनले भने । हावाको गुणस्तर अनुगमन गर्ने स्विट्जरल्यान्डस्थित ‘आइक्यू एअर’को ‘विश्व वायु गुणस्तर प्रतिवेदन– २०२४’ ले नेपालको हावामा प्रदूषणको मात्रा झनझन् बढ्दै गएको देखाइसकेको छ। प्रतिवेदनअनुसार नेपाल विश्वमै सातौँ अति प्रदूषित मुलुक र काठमाडौं शीर्ष आठौँ प्रदूषित राजधानीमा परेको छ । नेपाल सन् २०२३ मा आठौँ र २०२२ मा १६औँ स्थानमा थियो ।
पछिल्लो प्रतिवेदनअुनसार स्वच्छ हावा भएका मुलुकको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । प्रतिवेदनअनुसार सन् २०२४ मा (वार्षिक) नेपालको हावामा धुलोधुवाँकोे कण पिएम २.५ (रौँभन्दा तीन गुणा मसिना धुलोधुवाँका कण) सरदरमा ४२.८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।
धुलोधुवाँका मसिना कण नाक र मुखबाट सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि हानिकारक मानिन्छन् । उत्सर्जित नाइट्रोजन अक्साइड, कार्बनमोनोअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रेड सल्फेट, एमोनिया, धातुका टुक्रा, कार्बन तथा धातु हावामा धुलोधुवाँको कणमा मिसिँदा वायुमण्डल नै प्रदूषित हुन्छ ।
जनवरीदेखि अप्रिलमा हुन्छ वायु प्रदूषण उच्च
नेपालमा जनवरीदेखि अप्रिलसम्म वायु प्रदूषणको मात्रा उच्च हुने गरेको छ। वातावरण निरीक्षक गोविन्द लामिछानेका अनुसार अहिले चिसोका कारण वायु प्रदूषण बढे पनि अब सुक्खायाममा डढेलोका कारण वायु प्रदूषण झन् उच्च हुन्छ। ‘माघ, फागुन, चैतमा डढेलो लाग्छ । अझै चैतमा पिक अवस्थामा हुन्छ, यस्तो वेला धुवाँ वायुमण्डलमा तैरिएर वायु प्रदूषण उच्च हुन्छ,’ उनले भने।
वायु प्रदूषणविज्ञ भूपेन्द्र दासले सरकारले मापदण्ड पनि पुनरावलोकन गर्नुपर्ने र मापन केन्द्र थप्नुपर्ने बताए। ‘डब्लुएचओको मापदण्ड पछ्याउन हामीले पनि अग्रसरता लिनुपर्याे । त्यसका लागि काठमाडौंमा सभा, गोष्ठीले मात्र हुँदैन, स्थानीय तहमै कार्यान्वयन हुने गरी योजना बनाएर जानुपर्छ,’ उनले भने ।