उत्तराखण्ड पहिरो : बर्दिया मधुवनका खड्का परिवार शोकमा

भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार

आइतबार, २५ साउन, २०८२
डिजिटल संस्करण

भारतको उत्तराखण्डमा गत २० साउनको बाढीपहिरोले तीनजना सदस्य बेपत्ता बनाएपछि बर्दिया मधुवन नगरपालिका– ६ सानोश्रीका नरेन्द्र खड्काको परिवार शोकमा छ । पहिरोले ४० वर्षीय खड्का, उनकी श्रीमती ३२ वर्षीया सरस्वती भट्टराई खड्का र दुई वर्षीया छोरा रोमन खड्का बेपत्ता छन् ।

पहिरोले छोराबुहारी र नातिलाई बगाएपछि आमा लीलसरा खड्का शोकमा छिन् । बुबा चूडामणि खड्का बेपत्ता छोराको अवस्था बुझ्न गढवाल गएका छन् । घरमा चिन्ताको विषय भनेकै बेपत्ता भएको छोराको परिवारको भएको नरेन्द्रका कान्छोबुबा युद्ध खड्काले बताए । ‘मंगलबार बिहान ७:५५ मिनेटमा आमासँग कुरा भएको थियो । त्यसको केहीबेरमा पहिरोले बगाएको खबर आयो । बुधबार नै दाइ र ज्वाइँ नरेन्द्रको बारेमा बुझ्न जानुभएको छ । आज मात्रै नरेन्द्रको हात फेला परेछ । सायद एक दुई दिनमा दाइ आएपछि के गर्ने भन्ने सल्लाह गर्छौँ,’ उनले भने ।

युद्धका अनुसार नरेन्द्र कोभिडअघि माल्दिभ्स गएका थिए, तर राम्रो काम नपाएर डेढ वर्षमै फर्किए । त्यहीवेला कमाएको पैसाले उनले तीन कोठाको घर बनाउन जग हालेका थिए । भारतमा ज्याला–मजदुरी गरेर कमाएको पैसाले झ्याल र पर्खाल बनायो । घरको ढलान गर्ने वेला भएको थियो । ‘अस्ति घर आएका वेला अंकल अब चाँडै घर ढलान गरेर यतै बस्छु । छोरालाई यतै पढाउँछु । सानोतिनो व्यापार–व्यवसाय भए पनि गर्छु भन्दै थियो, नरेन्द्रलाई पहिरोले पुरिदियो । यससँगै उसको सपना पनि पुरियो,’ उनले भने ।

आँगनको छेउमा नरेन्द्रले कमाएर बनाएको ढलान नभएको तीन कोठाको घर छ । त्यसको छेउमा घर आएको वेला नरेन्द्रको परिवार बस्ने माटोको पर्खाल र टायलले छाएको सानो घर छ । मधुवन नगरपालिका– ५ की बेपत्ता अमृताको परिवारको घर पनि शोकमा छ । घरमा अहिले छोरी र बुहारी छिन् । अमृताका श्रीमान् पहिरोमा पुरिएर घाइते भएकी छोरीको उपचार गराइरहेको छ भने फुर्सद हुनेबित्तिकै श्रीमतीको अवस्था बुझ्न घटनास्थल जान्छन् । आमा बेपत्ता भएको खबर सुनेर माइत आएकी पूजा परियार भन्छिन्, ‘बेपत्ता आमाको शव देख्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । आमा, बुबा, बहिनीज्वाइँ र काका सबैजना कमाउन गएका थिए । मंगलबार आएको पहिरोमा परेर आमा बेपत्ता हुनुभयो । बहिनी घाइते । बहिनीको खुट्टामा चोट लागेकाले अपरेसन गर्ने कुरा भएको छ । के गरौँ, कसो गरौँ भएको छ ।

पहिरो गएको ठाउँमा भाइबुहारी साथमा काम गर्न गएकी मधुवन नगरपालिका– ५ की डल्ली परियार २५ असारमा घर फर्किएकी थिइन् । ‘बाटो बनाउने काममा गएका थियौँ । त्यहाँ माटो र ढुंगा बोक्ने काम गर्ने गथ्र्यौँ । महिलालाई दैनिक तीन सय रुपैयाँ र पुरुषलाई चार सय रुपैयाँ दिन्थे । मिस्त्रीको काम गर्न जानेकालाई पाँच सय दिन्थे । कमाएको पैसाले ज्यान पाल्न त पुग्थ्यो । घर पठाउन पुग्दैन्थ्यो,’ उनले भनिन् ।

१३ नेपालीको सकुशल उद्धार 
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएकामा वीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह, दिनेश, गंगा, सूर्य शाही, प्रवीण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राजबहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही छन् ।

सुझावित समाचार