मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 11 July, 2025
Invalid date format o८:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उदयपुरका ३६२ गाईभैँसीमा लम्पी स्किनको संक्रमण

असार तेस्रो हप्तासम्म तीन सय ६२ गाईभैँसीमा संक्रमण पुष्टि, गर्मी बढिरहेकाले थप बढ्ने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३१:oo

उदयपुरका आठवटै स्थानीय तहमा घरपालुवा जनावरमध्ये गाई, गोरु, भैँसी र राँगामा लम्पी स्किन रोगको संक्रमण देखापरेको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र गाईघाटका प्रमुख सुकराज लिम्बूका अनुसार गर्मीयाम सुरुभएसँगै थोरै देखिएको लम्पी स्किन अहिले बढ्दै गएको छ । 

उनका अनुसार क्याप्रीपक्स भाइरसको संक्रमणबाट विशेषगरी, गाईमा लाग्ने यो लम्पी स्किन रोग भैँसीमा पनि देखिन थालेको हो । सुरुमा गाईभैँसीमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दुध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्नेजस्ता लक्षण देखिने र अन्त्यमा मृत्यु हुने गरेको उनले बताए । 

लिम्बूले असार सुरु भएदेखि तेस्रो हप्तासम्म आइपुग्दा उदयपुरमा तीन सय ६२ वटा गाईभैँसीमा लम्पी स्किनको संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनले भने, ‘संक्रमण उदयपुरको त्रियुगा नगरपालिकामा ९७, चौदन्डीगढी नगरपालिकामा २०, बेलका नगरपालिकामा ८, कटारी नगरपालिकामा १०७, उदयपुरगढी गाउँपालिकामा ७, रौतामाई गाउँपालिकामा ४१, लिम्चुङबुङ गाउँपाकिलामा ३०, ताप्ली गाउँपाकिलामा ५२ वटा पशुमा देखापरेको छ । त्यस्तै, लम्पी स्किनबाट रौतामाई गाउँपाकिलामा एक दुधालु गाई मरेको छ ।

उनले विशेषगरी यो रोग गाईगोरुमा बढी देखापरेको बताए । उनले भने, ‘असारको पहिलो हप्ता एकसय एकवटा पशुमा देखिएको लम्पी स्किन दोस्रो हप्ता दुई सय ६१ पशुमा देखिएको थियो । अब गर्मी बढिरहेकाले अझ बढ्न सक्ने अनुमान लगाउन सकिन्छ ।’ लम्पी स्किन रोग लाग्न र फैलन नदिने सबैभन्दा प्रभावकारी विधि खोप हो । जिल्लामा हालसम्म १५ हजार ४३० वटा गाईगोरु, भैँसीरागालाई लम्पी स्किनविरुद्धको खोप पनि लगाइएको जानकारी दिए । उनले भने, ‘खोप पनि लगाउने कार्यक्रम जारी छ ।’ 

भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र गाईघाटका प्रमुख लिम्बूका अनुसार उदयपुरमा ८६ हजार ९ सय ६४ गाई, ३९ हजार ४ सय तीन भैँसी, ८०८ भेडा, ३ लाख ४६ हजार ८२९ बाख्रा, ८७ हजार ७ सय १० बंगुर, ७ लाख ६५ हजार ७५० कुखुरा र १६ हजार ५१० हाँस रहेको तथ्यांक छ । उदयपुरमा लम्पी स्किन संक्रमण फैलिन नदिन पशुपालक कृषकलाई सतर्क रहन र पशुमा लक्षण देखिएमा तत्काल जानकारी स्थानीय तहमा रहेको पशु कार्यालयलाई गराउन अनुरोध गरेको जानकारी दिइएको छ ।