
कप्तान विपिन शर्मा र ब्याटर प्रसिद्ध जैसी चम्किएपछि साबिक विजेता नेपालले एसिसी यू–१६ इस्ट जोन कपमा सानदार विजयी सुरुवात गरेको छ ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भयो । नेपालको जितमा कप्तान विपिनले चार विकेट लिँदा प्रसिद्धले ५५ रन बनाएका थिए ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाउँदा १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले ३३.३ ओभरमा चार विकेट गुमाउँदै पहिलो जित निकालेको हो ।
नेपालको विजयी सुरुवातमा ओपनिङ ब्याटर प्रसिद्ध जैसीले ९७ बलमा पाँच चौकासहित अविजित ५५ रनको योगदान गरे । यसैगरी रौनक श्रीवास्तवले ४० रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सिंगापुरका लागि आकाश तेजाले तीन तथा युभान पाण्डेले एक विकेट लिएका थिए ।
सिंगापुरका लागि कप्तान रियान नाइकले ५३ बलमा नाै चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरेका थिए । यसैगरी आहन वुथान्डमले ३८, प्रणन इशान मेदुरीले १२ र रोहन अस्टिन अरुणले ११ रन बनाए ।
नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले चार विकेट हात पारे । १० ओभर पूरा बलिङ गरेका विपिनले एक मेडन राख्दै ३४ रन खर्चिए । सचिन भट्टले तीन तथा अभय यादव र सुभम खनालले समान एक विकेट लिएका थिए ।
अब, नेपालले मंगलबार जापानसँग दोस्रो खेल खेल्नेछ ।
समूह ‘ए’मा रहेको नेपालले लगातार प्रतियोगिता जित्ने योजनामा छ । सन् २०२३ मा भएको प्रतियोगितामा घरेलु टोली मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।