
राप्रपाले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ । १५ चैतमा काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक झडपको छानबिन हुनुपर्ने, पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत पक्राउ परेका सबैलाई रिहा गर्नुपर्ने र देशमा सबै पक्षबिच नवीन समझदारीमा जानुपर्ने माग गर्दै राप्रपाले ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यीबाहेक अन्य राजनीतिक, सामाजिक र जनजीविकाका विषयलाई लिएर सबै जिल्लामा ज्ञापनपत्र बुझाइएको बताए । उनले ज्ञापनपत्र दिनुअघि देशैभरि सडक प्रदर्शन भएको जानकारी दिए । सडक प्रदर्शन निरन्तर रहने उनको भनाइ छ ।
राप्रपाले ७ वैशाखदेखि उपत्यकाकेन्द्रित प्रदर्शन दिनहुँ गर्ने निर्णय गरे पनि अहिले त्यसलाई परिमार्जन गरेको छ । ‘७ वैशाखमा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताले गिरफ्तारी दिनुभयो । मंगलबार ज्ञापनपत्र बुझाइएको छ । आन्दोलनका कार्यक्रम परिमार्जन भएका छन्, तर सडकमा राप्रपा निरन्तर रहन्छ,’ राप्रापाका एक पदाधिकारीले भने । राप्रपाले आफ्ना शान्तिपूर्ण राजनीतिक गतिविधिलाई सरकारका मन्त्रीहरूले संविधानविरुद्धको गतिविधि भनेकोमा आपत्ति जनाएको छ । ‘गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अपरिवर्तनीय छन् भनेर नेपालको संविधानको कुन धारामा लेखिएको छ ? राजसंस्था, हिन्दुराष्ट्रको पुनस्र्थापना र संघीयताको खारेजीको पक्षमा गतिविधि गर्न पाइँदैन भन्ने संविधानमा कतै लेखिएको छ र ?’ राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताबाहेक संविधानमा अपरिवर्तनीय केही छैन । हामी शान्तिपूर्ण बाटोबाट हाम्रा मान्यता स्थापित गर्न संघर्षरत छौँ ।’ उनले कसैलाई निषेध नगर्ने व्यवस्थाको पक्षमा सबै राजनीतिक दलहरूसँग ‘नवीन समझदारी’को फराकिलो प्रस्ताव राप्रपाले गरेको पनि जिकिर गरे ।
राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्दबाट मुक्त भएका छन् । उनी १५ चैत रातिदेखि प्रहरी निगरानीमा घरमै थिए । उनलाई प्रहरीले कुनै कागज नदिई घरमै नजरबन्दमा राखेको थियो । ‘गत १५ चैतबाट चौबिसै घण्टा प्रहरीको निगरानीमा थिएँ । आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु,’ सुवेदीले विज्ञप्तिमा भनेका छन् ।
राजावादीहरूले २२ वैशाखदेखि गर्ने भनिएको सामूहिक गिरफ्तारी दिने कार्यक्रम स्थगित गरेका छन् । राजावादीहरूको समितिका प्रमुख सल्लाहकार डा. जगमान गुरुङले साधु, सन्त, महन्त र धार्मिक अभियन्ताको प्रतिबद्धता सभा आयोजना हुने जानकारी दिए । सुवेदी नजरबन्दमा हुँदा उनी समितिका कार्यवाहक संयोजक तोकिएका थिए । उनले १३ वैशाखमा महिला प्रतिबद्धता सभा आयोजना गाराउने र गोरखामा पूजापाठ गरेर फर्केपछि वैशाखभित्रै धार्मिक अभियन्ताहरूको प्रतिबद्धता सभा गर्ने पनि जानकारी दिए ।