
पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । दशरथ रंगशालामा आइतबार भएको प्ले अफ खेलमा चितवनलाई ३–० ले हराउँदै पोखरा दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पहिलो क्वालिफायरमा ललितपुर एफसीसँग पराजित धनगढीले बुधबार पोखराविरुद्ध फाइनल प्रवेशका लािग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता र ललितपुर शनिबार उपाधिका लागि भिड्नेछन् । ललितपुर लगातार साबिक विजेता र धनगढी दुईपटकको साबिक उपविजेता हो ।
तेस्रो चरणको लिग चरणमा चितवनले पोखरालाई हराएको थियो । पोखराले लिग चरणमा चितवनसँग व्यहोरेको हारको बदला लियो । पोखराको जितमा जो आइडोकोले दुई गोल गरे । पहिलोपटक शीर्ष चारमा छनोट भएको चितवनले पोखराविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन । पोखराले भने चितवनविरुद्ध पहिलो तथा दोस्रो हाफमा एकनासको प्रदर्शन गर्यो । चितवनले पोखरालाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफमा १३ मिनेट सम्हालिन नसक्दा चितवन पराजित भयो । १३ मिनेटभित्र पोखराले तीन गोल गरी उपाधिको आशा जीवित राखेको हो । चितवनको यात्रा इलिमिनेटरसम्म रह्यो ।
पहिलोपटक एनएसएलको शीर्ष तेस्रो स्थान रक्षा गरेको चितवनले १० अंक बनाएको थियो । चितवनले तीन जित, एक बराबर र दुई हार सामना गरेको थियो । यसै प्रदर्शनका आधारमा चितवन प्ले अफमा पुगेको हो । पोखराले लिग चरणका सुरुवाती दुई खेलमा हार सामना गरेको थियो । त्यसपछि लगातार दुई खेलमा जित निकाली पोखराले प्ले अफ स्थान रक्षा गरेको थियो ।
पोखराले लिग चरणको अन्तिम खेलमा धनगढीमाथि सानदार जित निकालेको थियो । पोखराको यस जितले पहिलो संस्करणको विजेता काठमाडौं पाँचौँ स्थानमा रह्यो । प्रतिस्पर्धामा चितवनका विदेशी खेलाडी टोरिका जेबिनले कप्तानी गरेका थिए । चोटका कारण उनले अघिल्ला दुई खेल गुमाएका थिए । चितवनका नियमित कप्तान अञ्जन विष्टले चोटकै कारण महत्वपूर्ण खेल गुमाए । पोखराबाट सुरुवाती रूपमा आयुष घलानले कप्तानी गरेका थिए । दुवै टोलीले पहिलो रोजाइमा पाँचै विदेशी खेलाडीलाई मैदानमा उतारेका थिए ।
१३ मिनेटको अन्तरमा पोखराले बाजी मार्यो
पोखरालाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको चितवनले मध्यान्तरपछि त्यहीअनुरूप प्रदर्शन गर्न सकेन । खेलको ६८औँ मिनेटमा पोखराले १–० को अग्रता लियो । तर, पोखराका खेलाडीले अग्रता गोल गरेका होइनन् । चितवनका अभिषेक लिम्बूको आत्मघाती गोलबाट पोखराले १–० को अग्रता लिएको हो । पोखराका स्टेफेन समिरले डिबक्सबाहिरबाट प्रहार गरेको बललाई चितवनका गोलरक्षक अमल नाइटले क्लियर गर्न सकेनन् । गोलरक्षक अमलबाट रिबाउन्ड भएको बललाई समिर तामाङले डिबक्सबाट क्रस निकाले । त्यही क्रसलाई क्लियर गर्ने क्रममा अभिषेक आफ्नै पोस्टमा गोल गर्न पुगे ।
खेलको ७२औँ मिनेटमा पोखराले २–० को अग्रता बनायो । आइडोकोले पोखरालाई अग्रता दिलाएका हुन् । आइडोकोको प्रहार चितवनका जोनाथ क्याम्पबेलसँग डिफलेक्ट हुँदै गोल भएको थियो । तर, रेफ्रीले आइडोकोको नाममै गोल दिए । खेलमा नियन्त्रण राखेको पोखराले ७६औँ मिनेटमा तेस्रो अग्रता लियो ।आइडोकोले व्यक्तिगत दोस्रो गोल गर्दा पोखराले तेस्रो गोलको अग्रता बनाएको हो । चन्दन दासको पासमा आइडोकोले डिबक्सभित्र वान टचमै उत्कृष्ट गोल गरे ।
अन्तिम समयसम्म चितवनको प्रयास
१३ मिनेटमा खेल गुमाएको चितवनले पोखरालाई हराउन खेलको अन्तिम समयसम्म प्रयास जारी राख्यो । खेलको ८४औँ मिनेटमा चितवनले राम्रो अवसर गुमाएको थियो । जेब्रिनले डिबक्सबाट प्रहार गरेको बललाई पोखराका गोलरक्षक प्रिन्सोले उत्कृष्ट ढंगले बचाए । खेलको २५औँ मिनेटमा चितवनका सुमित श्रेष्ठले सटीक ड्रिब्लिङ गरी डिबक्ससम्म बल पुर्याएका थिए । तर, उनले डिबक्सभित्र साथीहरूलाई पास दिन सकेनन् । उनले आफ्ना सहकर्मीलाई पास नदिई सीधै पोस्टमा बल प्रहार गरे । खेलको २८औँ मिनेटमा चितवनका भिक्टरको पासमा जेब्रिनले गोल गर्न सकेनन् ।
जेब्रिनले डिबक्सभित्रबाट प्रहार गरेको बललाई गोलरक्षक प्रिन्सोले बचाउ गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा पोखराका नवयुग श्रेष्ठको प्रहारलाई चितवनका गोलरक्षकले बचाए । खेलको सातौँ मिनेटमा पोखराका आयुष धलानको पासमा आइडोकोकोले गोल गर्न सकेनन् । खेलको ३७औँ मिनेटमा चितवनका नोदिरको शक्तिशाली प्रहार दोस्रो बल हुँदै बाहिरिएको थियो । पहिलो हाफमा चितवनका नीरज चौधरीको प्रहारलाई पोखराका गोलरक्षक प्रिन्सोले गोललाइनबाट बचाएका थिए ।