
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिएका छन्।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज–सरम पचाएर यस्ता आरोप लगाउने बताए।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता रहेको दाबी गर्दै उनले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका वेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको टिप्पणी गरे।
‘एमाले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरण गर्ने लक्ष्यमा छ। हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ,’ उनले भने।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको ओलीले टिप्पणी गरे।
पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्लेषणात्मक चेत राख्न सुझाव दिए। ‘पार्टीभित्र एकताको चेत चाहिन्छ। विरोधीको आरोपको खण्डन गर्नुपर्छ। विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने।