१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025
रासस सियोल
२o८२ बैशाख १४ आइतबार १७:o५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाली सेनाले युक्रेनविरुद्धको युद्धमा भाग लिएको रुसद्वारा स्वीकार

Read Time : < 1 मिनेट
रासस, सियोल
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार १७:o५:oo

मस्को र किभबिचको द्वन्द्व सुरु भएयता पहिलोपटक रुसले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाली सेनाले भाग लिएको स्वीकार गरेको छ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कन्फरेन्समा रुसका चिफ अफ जनरल स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सेनाले कुर्स्क सीमा क्षेत्रको मुक्तिका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

‘म कुर्स्क क्षेत्रको सीमावर्ती क्षेत्रको मुक्तिमा डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाका सैनिकहरूको सहभागिताबारे प्रकाश पार्न चाहन्छु। उनीहरूले हाम्रा देशहरूबिचको व्यापक रणनीतिक साझेदारीसम्बन्धी सन्धिअनुसार युक्रेनी सशस्त्र बलको आक्रमणकारी समूहलाई पराजित गर्न महत्त्वपूर्ण सहयोग प्रदान गरे,’ गेरासिमोभले क्रेमलिनको वेबसाइटमा पोस्ट गरिएको भिडियो कन्फरेन्सको प्रतिलिपिमा भनेका छन्।

पुटिनले आफ्नो देशले सीमा क्षेत्र कुर्स्कको नियन्त्रण पुनः प्राप्त गरेको दाबी गरेका छन्। कुर्स्कमा युक्रेनले गत वर्ष आश्चर्यजनक आक्रमण गरेको थियो। पुटिनका अनुसार कुर्स्क सीमा क्षेत्रमा शत्रुको पूर्ण पराजयले मोर्चाका अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा रुसी सेनाको थप सफल कार्यका लागि अवस्था सिर्जना गर्छ र ‘नव–नाजी शासनको पराजयलाई नजिक ल्याउँछ।’

सरकारी सञ्चारमाध्यम तासका अनुसार रुसी राष्ट्रपतिले कुर्स्क क्षेत्रको मुक्तिमा भाग लिने सैन्य एकाइहरूका सैनिकहरूलाई बधाई र धन्यवाद दिए। अमेरिका, दक्षिण कोरिया, बेलायत र युक्रेनले उत्तर कोरियाली सेना युद्धको मोर्चामा देखिएको दाबी गरेको लगभग एक वर्षपछि रुसको स्विकारोक्ति आएको हो।

तर, युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एउटा टेलिग्राम पोस्टमा कुर्स्कमा शत्रुता अन्त्य भएको पुटिनको दाबी ‘सत्य नभएको’ बताएका छन्। ‘कुर्स्क क्षेत्रका तोकिएको क्षेत्रमा युक्रेनी रक्षा बलको रक्षात्मक अभियान जारी छ। परिचालन अवस्था गार्‍हो छ, तर हाम्रा एकाइहरूले आफ्नो स्थिति कायम राख्दै आफ्नो तोकिएको कार्यहरू सम्पादन गरिरहेका छन्,’ टेलिग्राम पोस्टमा भनिएको छ।