
नेकपा (एकीकृत समाजवादी)ले सरकारले शिक्षक आन्दोलन असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। वार्ता गरेर विद्यार्थीहरूको पठनपाठन सुचारु गर्नुपर्नेमा सरकार आन्दोलनप्रति उदासीन र आक्रामक बनेको एकीकृत समाजवादीको आरोप छ।
आइतबार पार्टीको सचिवालय बैठकले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ, ‘सरकारले राज्य शक्तिको दुरुपयोग गरेर शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने, लाठीचार्ज गर्ने र आन्दोलनरत दर्जनौँ शिक्षकहरूलाई घाइते बनाउने निरंकुश र गैरजिम्मेवार काम गरेको छ। प्रहरी हस्तक्षेपबाट पत्रकारसमेत घाइते बनाइएको छ।’
शिक्षक आन्दोलनमाथि सरकारले बर्बरतापूर्ण दमन गरेको भन्दै एकीकृत समाजवादीले प्रहरी दमन बन्द गर्न र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ।
फास्ट ट्र्याकबाट विद्यार्थी र शिक्षकमैत्री विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै भनिएको छ, ‘शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न, गुणस्तरीय शिक्षाको ग्यारेन्टी हुने गरी अग्रगामी जनमुखी र विद्यार्थी र शिक्षकमैत्री विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो (फास्ट ट्र्याकबाट) पारित गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ।