
दमक नगरपालिकाले गत शैक्षिक सत्रमा सामुदायिक विद्यालयमा ५ कक्षासम्म निःशुल्क शिक्षा दिन भन्दै २१ वटै सामुदायिक विद्यालयलाई परिपत्र गरेकोे थियो। चालू शैक्षिक सत्रमा आठ कक्षासम्म निःशुल्क शिक्षाका लागि नगरपालिकाले सूचना नै जारी गरेको छ।
यद्यपि, दमकमै रहेको हिमालय माविले भने निजीले जस्तै चर्को शुल्क असुलिरहेको छ। दमक– २ स्थित नमुना विद्यालय हिमालय माविले गत वर्ष पनि नगरपालिकाकोे निर्णय कार्यान्वयन गरेन। यसपटक पनि उक्त निर्णय कार्यान्वयन नगर्ने जनाएको छ।
विद्यालयका अध्यक्ष एवं दमकका पूर्वनगर प्रमुख रोमनाथ ओलीकै कार्यकालमा माध्यमिक शिक्षा निःशुल्क हुने गरी शिक्षा ऐन बनेको थियो। तर, आफैँ अध्यक्ष भएकै विद्यालयले नगरपालिकाले निःशुल्क पढाउन निर्देशन दिँदासमेत अटेर गरिरहेको छ। विद्यालयले अभिभावक सहयोगको नाममा शुल्क निर्धारण गरेर सूचना पाटीमा टाँसिसकेको छ। देशभरका शिक्षकहरू आन्दोलनमा भए पनि हिमालय माविले धमाधम विद्यार्थीको प्रवेश परीक्षा लिने र भर्ना गरिरहेको छ।
दमक नगरपालिकाले आठ कक्षासम्म निःशुल्क पढाउने भन्दै सूचना जारी गरेको दिन (३१ चैतमा) विद्यालयले पनि अभिभावक सहयोगको नाममा शुल्क सार्वजनिक गरेको हो। संविधानकोे धारा ३१ (२) मा मौलिक हकका रूपमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको अनिवार्य र निःशुल्क, माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने उल्लेख गरिएको छ। नगरपालिकाको शिक्षा ऐनमा पनि १० कक्षासम्मको शिक्षा निःशुल्क हुने उल्लेख छ।
विद्यालयले सूचना पाटीमा टाँसेको शुल्कअनुसार नर्सरीमा भर्नाका लागि अभिभावक सहयोगको नाममा पाँच हजार बुझाउनुपर्नेछ। एलकेजीमा नयाँ भर्ना हुनेले ६ हजार र पुराना विद्यार्थीको हकमा चार हजार, युकेजीका नयाँ विद्यार्थीले ६ हजार दुई सय, पुरानाले चार हजार दुई सय बुझाउनुपर्नेछ।
यस्तै, एक कक्षाका नयाँ विद्यार्थीले ६ हजार पाँच सय तथा पुरानाले चार हजार पाँच सय, दुई कक्षाका नयाँ विद्यार्थीले सात हजार तथा पुरानाले पाँच हजार, तीन कक्षाका नयाँले सात हजार पाँच सय तथा पुराना विद्यार्थीले पाँच हजार पाँच सय बुझाउनुपर्नेछ।
यस्तै, चार कक्षामा भर्ना हुन आउने नयाँ विद्यार्थीले आठ हजार तथा पुराना विद्यार्थीले ६ हजार, पाँच कक्षामा भर्ना हुन आउने विद्यार्थीले आठ हजार पाँच सय तथा पुराना विद्यार्थीले ६ हजार पाँच सय बुझाउनुपर्ने हिमालय माविले टाँसेको सूचनामा उल्लेख छ ।
यसैगरी ६ कक्षामा नयाँ विद्यार्थीले नौ हजार पाँच सय तथा पुराना विद्यार्थीले सात हजार पाँच सय, सात कक्षामा भर्ना हुन आउने नयाँ विद्यार्थीले दश हजार तथा पुराना विद्यार्थीले आठ हजार, आठ कक्षामा भर्ना हुने नयाँ विद्यार्थीले ११ हजार तथा पुराना विद्यार्थीले आठ हजार पाँच सय बुझाउनुपर्ने विद्यालयले जनाएको छ ।
यस्तै, नौ कक्षामा अंग्रेजी माध्यमका लागि भर्ना हुने नयाँ विद्यार्थीले ११ हजार पाँच सय तथा पुराना विद्यार्थीले नौ हजार बुझाउनुपर्नेछ । नौ कक्षामै नेपाली माध्यमका लागि भर्ना हुने नयाँ विद्यार्थीले ६ हजार तथा पुरानाले चार हजार पाँच सय अभिभावक सहयोगका नाममा बुझाउनुपर्नेछ । यस्तै, नौ कक्षामा प्राविधिक विषय पढ्ने विद्यार्थीले १७ हजार रुपैयाँ शुल्क विद्यालयलाई बुझाउनुपर्नेछ । १० कक्षामा अंग्रेजीका लागि दश हजार, नेपालीका लागि ६ हजार र प्राविधिक विषयका लागि १५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने विद्यालयले जनाएको छ ।
दरबन्दीका ३१ शिक्षकले ३५ सय विद्यार्थी निःशुल्क पढाउन सकिँदैन : प्रधानाध्यापक
आठ कक्षासम्म निःशुल्क गर्नका लागि दमक नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा टाइ–बेल्टबापत प्रतिविद्यार्थी २५०, परीक्षा शुल्कबापत प्रतिविद्यार्थी तीन सय र विद्यार्थी संख्या हेरेर एक वा दुईजना शिक्षकबापत प्रतिशिक्षक २५ हजार रुपैयाँ मासिक दिँदै आएको छ । नगरपालिकाले दिने शुल्कले नपुग्ने भएकाले निःशुल्क पढाउन नसकिएको हिमालय माध्यमिक विद्यालयका प्राधानाध्यापक द्रोण श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिमालय माध्यमिक विद्यालयमा नयाँ भर्ना हुन प्रवेश परीक्षा दिएर उत्तीर्ण भएका करिब सात सय विद्यार्थीसहित यस वर्ष करिब ३५ सय विद्यार्थी छन् । हिमालय माविमा ३१ जना शिक्षकको दरबन्दी छ ।
यस्तै, निजी स्रोतबाट ४८ जना शिक्षक तथा १५ जना कर्मचारी राख्नुपरेकोे उनले बताए । यस्तै, बिजुलीको बिल मात्र मासिक ४० हजारसम्म आउने उनले बताए । ‘हाम्रोजस्तो विद्यार्थी धेरै भएको विद्यालयमा नगरपालिकाले दिने दुईजना शिक्षकले के गर्नु ? तसर्थ हामी निःशुल्क पढाउन सक्दैनौँ । कानुनले दिएको अभिभावक सहयोग लिन्छौँ । अभिभावकले पनि आपत्ति जनाएका छैनन् । सबै खुसी छन्,’ उनले भने, ‘निःशुल्क भनेर नगरपालिकाले भाषण मात्र गरेर हुँदैन । बजेटचाहिँ दुई करोड छुट्याएको छु भन्ने अनि पैसा नै नदिने भएपछि कसरी निःशुल्क हुन्छ ? नगरपालिकालाई पहिला नै सुझाव दिएको हो, तर कार्यान्वयन भएन । हामीलाई वार्षिक करिब ६० लाख दिए मात्र निःशुल्क पढाउन सक्छौँ । निजी विद्यालयको शुल्कचाहिँ बोर्डबाट बढाउने अनि सामुदायिकलाई निःशुल्क गर्ने भनेर हुँदैन । यसरी त सरकारी विद्यालय ध्वस्त हुन्छ ।’
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले २० वटा सामुदायिक विद्यालयले नगरपालिकाको निर्णय कार्यान्वयन गर्दा हिमालय माविले मात्र नगरेको बताइन् । नगरपालिकाले विद्यालयको प्रशासनिक र व्यवस्थापकीय खर्च व्यहोर्नेभन्दा पनि निःशुल्क नपढाएको उनको भनाइ छ । ‘यो विद्यालय दमकको नमुना र ठुलो विद्यालय हो । अध्यक्ष पनि निवर्तमान नगर प्रमुख हुनुहुन्छ । प्रशासनिक र व्यवस्थापकीय खर्च नगरपालिकाले व्यहोर्छ भन्दा पनि हिमालय माविले निःशुल्क गरेन । यसमा हामी दुःखी छौँ,’ उनले भनिन्, ‘यो विद्यालयले त नमुना विद्यालयका रूपमा संघीय सरकारबाट पनि बजेट पाइरहेको छ ।’
‘निःशुल्क भन्ने अनि विद्यालयलाई चाहिने बजेट नदिने ?’
दमक नगरपालिकामा हिमालय माध्यमिक विद्यालयबाहेकका सामुदायिक विद्यालयले गत वर्ष पाँच कक्षासम्म निःशुल्क पढाए । यस वर्ष पनि नगरपालिकाले घोषणा गरेअनुसार आठ कक्षासम्म निःशुल्क पढाउने तयारीमा छन् । तर, नगरपालिकाले निःशुल्क पढाउने भनेर परिपत्र गर्ने, तर बजेट व्यवस्थापन नगर्ने परिपाटीले सामुदायिक विद्यालय संकटमा परेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ दमकका अध्यक्ष रमेश गुरागाईंले बताए । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले आफूले निःशुल्क गरे भनेर देखाउन कुनै योजनाविना नै निःशुल्क पढाउने निर्णय गरेको उनी बताउँछन् ।