
तिलोत्तमाको बुद्धज्योति लायन्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पाउन्ड रगत संकलन भएको छ। रक्त सञ्चार सेवा केन्द्र बुटवलमा शनिबार भएको रक्तदान कार्यक्रममा यस क्लबका पदाधिकारी, सदस्य, पूर्वपदाधिकारी र शुभेच्छुकसमेत गरी २७ जना रक्तदाताले रक्तदान गरेका हुन्।
क्लबका अध्यक्ष कृष्णप्रसाद पन्थीले पछिल्लो समय अस्पतालहरूमा रगतको अभाव भएकाले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। आगामी दिनमा पनि यस्तै खालका रचनात्मक र सामाजिक कार्यक्रमलाई निरन्तरता दिन क्लब प्रतिबद्ध रहेको उनले बताए।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका एरिया ३ की चिफ शान्ति पाठक पाण्डे, क्लबका संस्थापक अध्यक्ष भक्तबहादुर खड्कालगायतले यस क्लबले सराहनीय कार्य गर्दै आएकोमा खुसी प्रकट गरे।
कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट भक्त खड्का, पूर्वअध्यक्ष देवबहादुर कुँवर, सेकेन्ड भिपी विनोद भण्डारी, थर्ड भिपी शोभाखर खनाल, कार्यक्रम संयोजक देवीराम पन्थी, कोषाध्यक्ष हुतराज शर्मालगायतले रक्तदान गरेका थिए। यस कार्यक्रममा उपस्थित भई रक्तदान गर्ने सम्पूर्ण महानुभावहरूलाई क्लबका अध्यक्ष पन्थीले धन्यवाद एवं आभार प्रकट गरेका छन्।