१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
नवराज मैनाली काठमाडाैं
२o८२ बैशाख १३ शनिबार o६:o५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फिल्डमा किन क्रोधित देखिन्छ प्रहरी ? 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार o६:o५:oo

प्रहरी कर्मचारीले ड्युटीका क्रममा सर्वसाधारणमाथि हातपात तथा कुटपिट गरेका एकपछि अर्काे भिडियो सामाजिक सञ्जालमा फैलिएका छन् । यस्ता भिडियोले प्रहरीप्रतिको आमधारणा नकारात्मक मात्र बनिरहेको छैन, मानव अधिकारको पनि गम्भीर प्रश्न उठाएको छ । 

गत ३१ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका एक युवकलाई सामान्य विवादमै प्रहरीले नियन्त्रणमा लिएर लात्ताले हानेको थियो । युएईबाट बिदामा आएका विवेक ओझालाई प्रहरीले कठालो समातेर नियन्त्रणमा लिई हातपात गरेकोमा प्रहरीको तीव्र आलोचना भयो । सो भिडियो सामाजिक सञ्जालमा फैलिएपछि त्यसमा संलग्न तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । प्रारम्भिक छानबिनमा त्यसमा प्रहरीको कमजोरी पाइएको छ । 

न्युरोड गेटमा ट्राफिक प्रहरीले भुइँमा लडाएर एक सर्वसाधारणलाई लात्ताले हानेको भिडियो पनि यतिवेला सर्वत्र फैलिएको छ । छानबिनका क्रममा त्यो घटना गत २३ मंसिरको भएको खुलेको छ । स्कुटरमा नियमविपरीत सामान बोकेको विषयमा विवाद बढेपछि उनले त्यसरी कुटेका थिए । सो घटनामा संलग्न ट्राफिक प्रहरी वृत्त जनसेवाका चार ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए । 

शुक्रबारदेखि सामाजिक सञ्जालमा अर्काे एक भिडियो फैलिएको छ । जसमा एक प्रहरी हवल्दारले एक व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । प्रारम्भिक छानबिनमा त्यो घटना साढे दुई वर्षअघि सोह्रखुट्टेमा भएको प्रहरीले जनाएको छ । त्यसरी कुटपिटमा संलग्न प्रहरी हाल कञ्चनपुरमा कार्यरत छन् । पुरानो घटना भए पनि सार्वजनिक रूपमा प्रश्न उठेपछि यसको पनि छानबिन सुरु भएको छ । 

प्रहरीले सर्वसाधारणमाथि गर्ने दुव्र्यवहारका घटना नौला होइनन् । तर, एकपछि अर्काे यस्ता भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि प्रहरीलाई आफ्नो छवि जोगाउने चिन्ता बढ्नुका साथै प्रहरीको व्यवहार सुधार्न पनि दबाब थपिएको छ । चार महिनाअघि चितवनमा एक सर्वसाधारणलाई प्रहरीले लात्ताले हानेको भिडियो भाइरल भएपछि प्रहरीको सर्वत्र आलोचना भएको थियो । जसमा संलग्न असइलाई सोही भिडियोकै आधारमा निलम्बन गरिएको थियो । 

राष्ट्रिय मानव अधिकार आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले पछिल्लो समय सार्वजनिक भएका प्रहरीको दुव्र्यवहारसम्बन्धी भिडियो अत्यन्तै गम्भीर प्रकृतिको भएको बताउँछन् । ‘यो प्रहरीबाट हुन सक्ने खालको व्यवहार नै होइन,’ उनी भन्छन्, ‘यस्ता विषयमा अनुसन्धान गरिरहेका छौँ, प्रहरीले दोषीलाई कारबाही गरी आफ्नो व्यवहार अविलम्ब सुधार गर्नुपर्छ ।’ 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्य प्रहरीबाट भएका हजारौँ राम्रा काम बाहिर नआउने, तर एक–दुईवटा नराम्रा घटना बाहिर आउने गरेको बताउँछन् । ‘पछिल्लो समय बाहिर आएका भिडियोको अध्ययन गरी सर्वसाधारणमाथि दुव्र्यवहार गर्ने प्रहरीमाथि छानबिनमार्फत कारबाहीको प्रक्रिया चलिरहेको छ,’ उनी भन्छन्, ‘तर, भिडियोमा एकपक्षीय रूपमा प्रहरीलाई गलत देखाउने प्रयास भइरहेको छ ।’ समग्र समाजकै चरित्रलाई हेरेर प्रहरी व्यवहारको मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ । 

विमानस्थलको घटनामा सुरुमा प्रहरीलाई नै जुत्ताले हिर्काउने प्रयास गरेको तथा न्युरोडमा ट्राफिक प्रहरीमाथि सुरुमा कुटपिट भएको प्रहरीको प्रारम्भिक छानबिनमा देखिएको छ । त्यस्तै, सोेह्रखुट्टेको घटनामा गाँजासहित भेटिएका व्यक्ति प्रहरीलाई नै झुक्याएर भाग्न खोजेपछि बल प्रयोग भएको प्रहरी दाबी छ । 

यद्यपि, यी तीनै घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरिएको प्रहरी अधिकारी स्विकार्छन् । ‘बल प्रयोग गर्ने शैली नै मिलेको देखिएन, यस्तो लात र मुक्का हान्ने होइन, नियन्त्रणमा लिएर हत्कडी लगाउने हो,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा कस्तो शैली अपनाउने भन्ने विषयमा तालिमको अभाव देखियो।’ 

पूर्वएसएसपी जीवनकुमार श्रेष्ठ फिल्डमा खटिने प्रहरीलाई ‘रिफ्रेसर’ तालिम अझै बढाउनुपर्ने र सर्वसाधारणसँग गर्ने व्यवहारबारे नियमित ब्रिफिङ गरेर अनुगमन गर्नुपर्ने बताउँछन् । ‘खासगरी ट्राफिक प्रहरीलाई कामको अत्यन्तै बोझ हुन्छ, सर्वसाधारणले नियम मिच्दा उनीहरू छिटो रिसाउने गरेका हुन सक्छन्,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा कसरी संयमता कायम राख्ने भन्नेमा उनीहरू सचेत हुुनुपर्छ । प्रहरी कुटपिटमा लाग्ने होइन, कानुन कारबाहीमा लाग्नुपर्छ ।’ 

एक प्रहरी अधिकारी तल्लो तहका प्रहरीको क्रोधित व्यवहारको पछाडि उनीहरूको सेवा–सुविधाको समस्यासमेत जोडिएको बताउँछन् । ‘प्रहरी कर्मचारी दिनमा १५ घण्टा ड्युटीमा खटिन्छन्, तर परिवार पाल्न पुग्ने सेवा–सुविधा राज्यले दिएको छैन,’ ती प्रहरी भन्छन्, ‘उनीहरूको व्यक्तिगत तनाव पनि कार्यक्षेत्रमा पोखिने गरेको छ ।’ 

उपत्यकाका त अधिकांश ट्राफिक प्रहरी यहाँ काम गर्नसमेत अनिच्छुक हुने गरेका छन् । आफ्नो दरबन्दी रहेको ठाउँमा जान रमाना माग्दा पनि नपाउने अवस्था छ। 

प्रहरीमा न्यून सेवा–सुविधा, सरुवा–बढुवामा हुने पक्षपात र कामको बोझका कारण तल्लो तहका अधिकांश प्रहरी राजीनामाको मुडमा हुने गरेका छन् । राजीनामाको मुडमा हुने प्रहरीबाट उत्कृष्ट सेवाको अपेक्षा गर्न गाह्रो हुने भएकाले करेक्सन तालिमसँगै प्रोत्साहनका कार्यक्रम पनि सँगै अघि बढाउनुपर्ने प्रहरी अधिकारी बताउँछन् ।