मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार १o:३o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

म्यानचेस्टर सिटीको उपाधि जित्ने आशा कायमै

एफए कपको सेमिफाइनलमा स्थान बनाएको म्यानचेस्टर सिटीले कम्तीमा एउटा उपाधिका साथ सिजन सकाउने लक्ष्य बनाएको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार १o:३o:oo

म्यानचेस्टर सिटीले सन् २०२४/०२५ को सिजनमा उपाधि जित्ने आशा यथावत् बनाएको छ । सिटीले आइतबार राति एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनल स्थान सुरक्षित गरेसँगै उपाधि जित्ने सम्भावना जीवितै राखेको हो । एफए कपको क्वार्टरफाइनलमा सिटीले बर्नमाउथलाई २–१ ले हरायो । यद्यपि, सिटीले बर्नमाउथलाई पाखा लगाउन सहज भएन । प्रतिस्पर्धामा सिटी सुरुवातमै एक गोलले पछाडि थियो । दोस्रो हाफमा लय पक्रँदै सिटीले बर्नमाउथलाई हराउन सफल भयो । बर्नमाउथलाई इभानिल्सनले अग्रता दिलाएका थिए । 

सिटीको जितमा एर्लिन हल्यान्डले ४९औँ र ओमार मारमोउसले ६३औँ मिनेटमा गोल गरेका थिए । यसअघि सिटी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा स्पेनिस क्लब रियल म्याड्रिडबाट पराजित भएको थियो । इंग्लिस प्रिमियर लिगको साबिक चारपटकको विजेता सिटी शीर्ष स्थानको लिभरपुलसँग २२ अंकले पछाडि छ । सिटीले लगभग प्रिमियर लिग उपाधि गुमाइसकेको छ । 

खेलाडीलाई आत्मविश्वास  दिलाएका प्रशिक्षक
एफए कपको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नुअघि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीलाई कम्तीमा एउटा उपाधिका साथ सिजन समाप्त गर्नुपर्ने निर्देशन दिएका थिए । उनले खेलाडीलाई उपाधि जित्ने सक्ने आत्मविश्वाससमेत दिलाएको बिबिसीले जनाएको छ । बर्नमाउथविरुद्धको महत्वपूर्ण खेलमा उनले पहिलो प्लेनिङ ११ मा प्रमुख खेलाडीलाई मैदानमा उतारे । पहिलो हाफदेखि नै विपक्षीको पोस्टमा आक्रामक रणनीति अपनाएको सिटीले अप्रत्याशित रूपमा एक गोल व्यहोरेको थियो । 

यद्यपि, सिटीका खेलाडीले बराबरी गोल फर्काउन सक्ने आत्मविश्वास बढाउँदै गएका थिए । यो योजना दोस्रो हाफमा सफल भयो । प्रशिक्षक पेपले बर्नमाउथको मिडफिल्ड र डिफेन्डरलाई झुक्याउने क्रममा लेफ्ट ब्याकका जोस्को गार्डिओललाई स्थान परिवर्तन गराए । अगाडि हल्यान्डलाई ओ रियलले गतिलो साथ दिए । मध्यान्तरमा ओमारले पोसेसन परिवर्तन गर्दै बर्नमाउथको पोस्टमा निरन्तर आक्रामक गरेका थिए । 

सिटीलाई निराश बनाउने बर्नमाउथको प्रयास
पहिलो हाफमै अग्रता लिएको बर्नमाउथले सिटीलाई स्तब्ध बनाउने सबै किसिमका योजना अपनाएको थियो । मध्यान्तरअघिसम्म बर्नमाउथको खेलमा केही कमजोरी देखिएन । दोस्रो हाफको खेल सुरु भएलगत्तै सिटीको खेलमा सुधार आएको थियो । बर्नमाउथले अग्रता रक्षा गर्ने योजनाका साथ डिफेन्स रणनीति अपनाएको थियो । जसका कारण सिटीका खेलाडीले विपक्षीको डिफेन्स तोड्ने सबै प्रयास गरिरहे । प्रशिक्षक इओरालले यसपटक टोलीलाई एफए कपको सेमिफाइनलमा पुर्‍याउने लक्ष्य पूरा गर्न सकेनन् । ‘सिटीसँगको खेल सधैँ कठिन हुने गर्छ, आजको प्रतिस्पर्धामा यस्तै भयो,’ उनले भने, ‘सिटीले मध्यान्तरपछि फरक खेल प्रस्तुत गर्दा हामीलाई गाह्रो भएको हो ।’ सिटीका प्रशिक्षक पेपले योजनाअनुसार नतिजा निस्किएको बताए । 

‘पहिलो हाफमा एक गोलले पछाडि रहँदा हामी आत्तिएनौँ,’ उनले भने, ‘मलाई बराबरी गोल फर्काउने विश्वास थियो ।’ बराबरी गोलसँगै विपक्षीको डिफेन्स कमजोर भएको उनले बताए । ‘हामीले गोल फर्काएपछि बर्नमाउथको डिफेन्स कमजोर भयो, यसको फाइदा खेलाडीले उठाएँ,’ पेपले भने, ‘अब कम्तीमा हामी एउटा उपाधि जित्ने अभियानमा छौँ ।’