
फ्रान्सको एक अदालतले चरम दक्षिणपन्थी दल नेसनल र्याली (आरएन)की नेतृ मरिन ले पेनलाई आर्थिक हिनामिनाको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षसम्म सार्वजनिक पदमा प्रतिबन्ध लगाएको छ । अदालतको फैसलासँगै पेन आगामी राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएकी छिन् । फ्रान्समा सन् २०२७ मा राष्ट्रपति निर्वाचन हुने तालिका छ । यसअघि उनले सन् २०१२, २०१७ र २०२२ को राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् । ले पेन आफ्नो अतिदक्षिणपन्थी पार्टी आरएनलाई आर्थिक सहयोग गर्न युरोपेली कोष हिनामिना गरेकोमा दोषी ठहर गरेको हो ।
अदालतका न्यायाधीश बेनेडिक्टे डे पर्थुइसले ले पेनका कार्य ‘युरोपमा विशेष गरी फ्रान्समा लोकतान्त्रिक जीवनका नियममाथि निर्मम प्रहार’ भएको फैसलामा उल्लेख गरेका छन् ।उनले आफूलाई अदालतले दोषी करार गर्ने अपेक्षा गरेकी भए पनि सार्वजनिक पदमा पाँच वर्षको प्रतिबन्ध होला भनेर कल्पनासमेत गरेकी थिइनन् । न्यायाधीशले सजायको विवरण दिनुभन्दा पहिले नै उनी अदालतबाट बाहिर निस्केकी थिइन् ।
पेनमाथिको सजाय प्रजातन्त्रमाथिको धक्का भएको उनका वकिलले टिप्पणी गरेका छन् । यसैबिच, फैसलाविरुद्ध उनले अदालतमा पुनरावेदन गर्ने भएकी छिन् । ले पेनविरुद्धको फैसलाबाट प्रधानमन्त्री फ्रान्कोइस बायरो चिन्तित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनी ‘फैसलाको शब्दावलीबाट चिन्तित’ बनेको प्रधानमन्त्रीनिकट स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको हो । यद्यपि, यस विषयमा प्रधानमन्त्रीले सार्वजनिक प्रतिक्रिया भने दिएका छैनन् । (एजेन्सी)