मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार o७:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिमालयले सुरु गर्‍यो ल्हासा–पोखरा–ल्हासा व्यावसायिक उडान : ल्हासाबाट १०७ यात्रु ल्याएको विमानले पोखराबाट ३० यात्रु लिएर फर्कियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o७:५८:oo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासा–पोखरा–ल्हासा जोड्ने गरी सोमबारदेखि पोखराबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । चीनको ल्हासास्थित गोंगर विमानस्थलबाट एक सय सातजना यात्रु लिएर आएको हिमालयको एक सय ४४ सिटे एयर बस ३१९ एजेके विमानले एक घण्टा ३४ मिनेटको उडानपश्चात् पोखरामा एक बजेर ५६ मिनेटमा अवतरण गरेको थियो । पोखरा आउनुअघि सो विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गरेको थियो । पोखरा अवतरण गरेको विमानले ३० जना यात्रु लिएर मंगलबार बिहान ८:२० बजे ल्हासा प्रस्थान गर्नेछ । 

‘रुफ अफ द वर्ल्ड’ भनेर परिचित ल्हासाबाट पोखरा आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्ण, हिमालयका अध्यक्ष झोउ एनयोङलगायतले स्वागत गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उडान सुरु भएसँगै अब पोखरा र यस क्षेत्रमा बढीभन्दा बढी चीनका पर्यटक भिœयाउन लाग्नुपर्ने बताए । उडानले पोखरासँगै समग्र प्रदेशको पर्यटन प्रवद्र्धनमा कनेक्टिभिटीको भूमिका निर्वाह गर्ने बताउँदै उडानको निरन्तरताका लागि प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए । त्यस्तै, राज्यमन्त्री चौधरीले हिमालयले सुरु गरेको उडानले पोखरासमेत अन्तर्राष्ट्रिय उडानका लागि एउटा गन्तव्य हो भनी देखाएको बताए ।  पोखरा महनगरका प्रमुख आचार्यले अन्तर्राष्ट्रिय उडानले पोखरेलीको ५० वर्षअघिको सपनालाई पूरा गरेको बताए । पोखराले भ्रमण वर्ष मनाइरहेको समयमा अन्तर्राष्ट्रिय उडानले पोखराको अभियानलाई सफल पार्नसमेत  सहयोग गर्ने बताए ।  

राजदूत सोङले पोखराबाट यसअघि चार्टर उडान मात्र हुँदै आएको हिमालयले पोखराको नियमित अन्तर्राष्ट्रिय उडानको माग सम्बोधन गरेको बताए । उडानले दुई देशबिचको आपसी सम्बन्धलाई सुदृढ गर्दै कनेक्टिभिटीको मार्गसमेत खोलेको भनाइ उनको थियो । पोखराबाट चीनका अन्य गन्तव्यमा समेत उडानका लागि राजदूतावासले काम गरिरहेको र थप अन्तर्राष्ट्रिय गन्तव्य छिटै पोखराले प्राप्त गर्ने विश्वास दिलाएका थिए । 

उपमहानिर्देशक कर्णले हिमालय एयरलाइन्सले उडान सुरुसँगै अन्तर्राष्ट्रिय उडान भएन भन्ने चिन्ताको समय अब सकिएको बताए । यसलाई निरन्तरताका लागि पोखराका पर्यटन व्यवसायीहरू लाग्नुपर्ने बताए । पोखराबाट बंगलादेश र भुटानका वायुसेवा कम्पनीहरूले समेत चासो देखाएको जानकारी दिँदै अब पोखराबाट अन्य गन्तव्यमा उडान सुरु गर्न आफूहरू लागेको बताए ।

हिमालयका अध्यक्ष एनयोङले नयाँ क्षेत्र, गन्तव्य र बजारका रूपमा पोखरा प्राप्त गरेको बताए । उडानले नेपाल र चीनबिचको हवाई सम्पर्कलाई सुदृढ बनाएसँगै कम्पनीका लागि एक महत्वपूर्ण कोसेढुंगा रहेको बताए । सुरु उडान केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवद्र्धन गर्न, व्यापार र सांस्कृतिक आदान–प्रदानका लागि नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण पहलसमेत रहेको बताउँदै उडानको दीर्घकालीन सफलताका लागि निरन्तर सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

हिमालयका उपाध्यक्ष एर्व प्रवक्ता विजय श्रेष्ठले हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउने रहेको बताए । १७ पुस ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुन ०८० मा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । १८ फागुन ०७९ देखि रात्रिकालीन उडान सुरु भएको विमानस्थलमा यसअघि चार्टर उडान र एक व्यावसायिक उडान भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा टुंगो भने लागेको थिएन ।