मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
यम बम काठमाडाैं
२o८१ चैत १९ मंगलबार o७:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

७० जिल्लामा फैलिएको बाह्य मिचाहा प्रजातिको वनस्पति रोक्न सरकारले ल्यायो रणनीति

जोखिमयुक्त बाह्य मिचाहा प्रजातिको खेती, बेचबिखन र प्रवेश तथा ओसारपसार नियन्त्रणका लागि संयन्त्र बनाइने

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o७:३९:oo

सरकारले ‘बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना, २०८१’ स्वीकृत गरेको छ । संसारकै खराब मिचाहा प्रजातिमा पर्ने सेतो वनमारा, जलकुम्भी, लहरे वनमारा, वनफाँडा नेपालमा पनि तीव्र रूपमा फैलन थालेपछि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मन्त्रीस्तरीय निर्णयबाट आइतबार रणनीति स्वीकृत गरेका हुन् । १० वर्षअघि नै रणनीतिका लागि गृहकार्य थाले पनि बल्ल बनेको हो ।

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले रणनीति स्वीकृत भएसँगै मिचाहा प्रजातिको प्रवेश र फैलावटलाई नियन्त्रण गर्न सहयोग पुग्ने बताए । ‘बाह्य मिचाहा प्रजातिका कारण वन्यजन्तुको वासस्थान क्षति गरेको, मिचाहा वनस्पति खाँदा घरपालुवा वस्तुभाउ मरेको, वन डढेलोको जोखिम बढेको थियो,’ केसीले भने, ‘अब तीन तहकै सरकार र सरोकारवाला निकायको सहकार्यमा मिचाहा प्रजाति भित्रिन नदिन र भित्रिसकेकालाई फैलन नदिने गरी काम गर्न सहज हुनेछ ।’

वन तथा वनस्पति विभागको ‘नेपालमा फैलिएका बाह्य मिचाहा प्रजाति’ पुस्तकमा उल्लेख भएअनुसार ७० भन्दा धेरै जिल्लामा मिचाहा प्रजातिका वनस्पति फैलिसकेको छ । नेपालमा २८ बाह्य मिचाहा प्रजाति छन् । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का अनुसार जलकुम्भी, सेतो वनमारा, कालो वनमारा, वनफाँडा, लुँडे काँडा, लज्जावती, गन्धे, निलोगन्धे, जलजम्बु, थाकल, कालोकुरो, फुलेझार, चित्लांगे, वनसिलाम, बेसरम, करौँतेघाँस, लहरेवनमारा, माइरियोफिलम एक्वाटिकम, चरीअमिलो झार, पातीझार, कुम्भिका, ठुलो टाप्ने, सानो टाप्ने, आलुपाते, भेँडेकुरो, थाङ्नेझार र सिंगापुरे डेजी बाह्य मिचाहा प्रजाति हुन् । 

०७९ मा काभ्रेको पाँचखालमा देखिएको सिंगापुरे डेजी पछिल्लोपटक कैलालीमा पनि देखिएको छ । सेतो गन्धेझार ५२ जिल्लामा फैलिइसकेको छ । वनफाँडा ३४, सेतो वनमारा २३, जलकुम्भी १५ र लहरे वनमारा १२ जिल्लामा फैलिसकेको छ । तर, जिल्लागत रूपमा ७० जिल्लामा बाह्य मिचाहा प्रजाति फैलिसकेको वनस्पतिविद् बताउँछन् । किरौँते घाँस नेपालमा पहिलोपटक सन् १८२० मा पाइएको थियो ।

एक सय वर्षअघिदेखि नेपालमा दक्षिण तथा मध्य अमेरिकाबाट बाह्य मिचाहा प्रजाति भित्रिन थालेका हुन् । खासगरी बीउको माध्यमबाट भित्रिएका हुन् ।महानिर्देशक केसीका अनुसार मिचाहा प्रजाति चाँडै बढ्ने, फैलने गर्छ भने कृषिबालीका लागि आवश्यक प्रकाश र तापक्रम सोस्न अवरोध पुर्‍याउँछ । पानीको स्रोतलाईसमेत सुकाउने गर्छ । 

रणनीतिमा के छ ?
रणनीतिले सन् २०३० सम्म बाह्य मिचाहा प्रजातिको फैलने दरलाई कम्तीमा ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । त्यसका लागि मिचाहा प्रजातिको पहिचान गरी प्रारम्भिक अवस्थामै नियन्त्रण गर्ने योजना अघि सारिएको छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय विस्तार गरी काम गर्ने उल्लेख छ । मिचाहा प्रजातिको फैलावट रोक्न राष्ट्रिय चेतावनी सूची जारी गरिने वन अनुसन्धान केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीले बताए ।

‘मिचाहा प्रजातिबारे आमनागरिकमा जनचेतना फैलाउनुपर्नेछ, त्यसका लागि हानिकारक सूचीमा रहेका प्रजातिको सूची बनाइनेछ,’ उनले भने, ‘बाह्य मिचाहा प्रजातिको प्रवेश हुन नदिन तथा निकासी पैठारी नियमनका लागि राष्ट्रिय बिरुवा संरक्षण संगठनसँग सहकार्य गर्ने रणनीतिमा उल्लेख छ ।’ कृषि वन, वृक्षरोपण, पारिस्थितिकीय प्रणालीको पुनरुत्थान, नदी नियन्त्रण, मत्स्यपालन, पुष्प व्यवसायका लागि भिœयाइने बाह्य प्रजातिबाट हुन सक्ने जोखिम (मिचाहा प्रजाति भित्रिन सक्ने जोखिम) न्यूनीकरणका लागि अन्य मुलुकमा मिचाहा प्रजातिको सूचीमा परेकालाई जोखिम मूल्यांकन गरेर मात्र अनुमति प्रदान गरिने रणनीतिमा उल्लेख छ ।