
नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिता (पिएम कप) मा सय विकेट लिने पहिलो बलर बनेका छन् । ललितले पिएम कपमा ४२ खेलबाट सय विकेट लिएका हुन् । सन् २०१७ देखि निरन्तर रूपमा ललितले प्रतिस्पर्धा गरिरहेका छन् । समग्रमा उनले आठ सिजनमा एक सय तीन विकेट संख्या पुर्याएका छन् । उनले एक हजार १३ रन दिनुका साथै ४५ मेडन ओभर गरेका छन् । यो सिजनमा उनले आठ खेलमा सर्वाधिक ३६ विकेट लिएका छन् ।
पिएम कपमा सय विकेटनजिक अर्का बलर त्रिभुवन आर्मी क्लबका साहब आलम हुन् । साहबले अहिलेसम्म ९९ विकेट लिएका छन् । उनले ४८ खेलको ४६ इनिङ्स खेलेका छन् । तेस्रो नम्बरमा सुदूरपश्चिमका शेर मल्लले ६९ विकेट लिएका छन् । चालू आठौँ संस्करणको लिग चरणको अन्तिम खेलमा आर्मी र पुलिसबिच प्रतिस्पर्धा हुनेछ । यसै खेलमा आलमसमक्ष सय विकेट लिने अवसर जुरेको छ । यसपटक उनले २४ विकेट लिएका छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार पुलिसले कर्णालीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । ललितले ४१ रन खर्चेर ६ विकेट लिँदै सय विकेटको कोसेढुंगा पूरा गरेका हुन् । यसपटक उनले आफूलाई उत्कृष्ट फर्ममा राखी सर्वाधिक विकेट लिने बलरको सूचीको शीर्ष स्थानमा आफूलाई उभ्याएका छन् ।
ललितले दुई खेलमा समान पाँच विकेट तथा तीनपटक ६ विकेटको प्रदर्शन गरेका छन् । ललितले कर्णाली र सुदूरपश्चिमविरुद्ध समान पाँच विकेट लिएका थिए । उनले मधेश, गण्डकी तथा एपिएफविरुद्धको महत्ववपूर्ण खेलमा ६ विकेट लिन सफल भए । ललितले लुम्बिनी र कोशीविरुद्ध समान दुई विकेट हात पारेका थिए । बागमती प्रदेशविरुद्ध उनले ३४ रन खर्चेर चार विकेट लिए ।
आठौँ जितसँगै पुलिस फाइनलमा
प्रतियोगितामा लगातार आठौँ जित निकाली पुलिसले फाइनल स्थान पक्का गरेको छ । १६ अंक जोडेको पुलिसले शीर्ष स्थान बलियो बनाएको छ । दोस्रो स्थानमा आर्मी र तेस्रो स्थानमा एपिएफ रहेका छन् । यी दुई मध्ये एक टोलीले अन्तिम दुई स्थान बनाउनेछन् । आर्मीले आठ खेलबाट १४ अंक तथा एपिएफले समान खेलबाट १२ अंक जोडेको छ । पिएम कपमा अपराजित रही अन्तिम दुई स्थान बनाउने क्रममा पुलिसले मंगलबार लहमीमा कर्णालीलाई ४४ रनले हरायो ।
पहिलो ब्याटिङ गरेको पुलिस ४८ ओभरमा १४७ रनमा समेटियो । प्रत्युत्तरमा ललितको घातक बलिङ सामना गर्न नसक्दा कर्णालीले मध्यम योगफल पनि पछ्याउन सकेन । कर्णाली २४ ओभरमा १०३ रनमा समेटियो । कर्णालीको फितलो ब्याटिङमा ओपनर रवीन्द्र साहीले ३२ बलमा ४९ रन तथा अर्जुन घर्तीले ४२ बलमा ३० रन बटुले । सो इनिङ्समा तीन खेलाडी शून्य रनमा आउट भए । ६ खेलाडीले दोहोरो रन नै बनाएनन् ।
यसअघि पुलिसको ब्याटिङमा अर्जुन साउदले सर्वाधिक ३६ रन जोडेका थिए । उनले ६० बलमा चार चौका र एक छक्का प्रहार गरे । यसैगरी, दिलीप नाथले ५९ बलमा ३४ रन बनाए । पुलिस इनिङ्सको एक समय १०९–९ को कमजोर अवस्थामा थियो । तर, पुछारका सागर ढकाल र श्रवण यादवले दसौँ विकेटका लागि महत्ववपूर्ण ३८ रन जोडे । श्रवणले ३९ बलमा ११ रन तथा सागरले २८ बलमा २२ रन बटुलेका थिए ।
विशालले लिए ६ विकेट
प्रतियोगिताअन्तर्गत भैरहवामा मधेश प्रदेशले सुदूरपश्चिमलाई ४४ रनले हराएको छ । यस खेलमा मधेशका विशाल पटेलले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले ६ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए । उनले दुई मेडन ओभर फ्याँके । पहिलो ब्याटिङ गरेको मधेशले ४२.३ ओभरमा १०२ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा सुदूरपश्चिम २९ ओभरमा ५८ रनमै समेटियो । सुदूरपश्चिमको ब्याटिङमा हेमन्त धामीले सर्वाधिक १९ रन बनाए ।
यसबाहेक ६ खेलाडी डकआउट भए । प्रकाश पाण्डे, निश्चल क्षेत्री तथा मिलन बोहरा गोल्डेन डकआउट भएका थिए । उनीहरूले सामना गरेको पहिलो बलमै आउट भए । विशालले इनिङ्सको १.१ ओभरमा प्रकाश, १.२ ओभरमा निश्चल तथा १.४ ओभरमा किरण ठगुन्नालाई क्रिजबाट हटाए । पावर प्लेमै विशालले घातक बलिङ गरेपछि सुदूरपश्चिम ५.३ ओभरमा ६–६ का नाजुक स्थितिमा पुगेको थियो । यसअघि सुदूरपचिमले पनि मधेशविरुद्ध कसिलो बलिङ गरेको थियो । हेमन्त र शेर मल्लले समान चार विकेट लिँदा मधेश १०२ रनमा अलआउट भएको थियो । मेधशको ब्याटिङमा प्रदीप पासवानले सर्वाधिक २३ रन जोडेका थिए ।