मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १२ मंगलबार
  • Sunday, 30 March, 2025
२o८१ चैत १२ मंगलबार १३:१८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

०६५ पछि पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन : एमालेनिकट अनेरास्ववियुकाे विरासत जोगाउँदै विष्णु पोखरेल भए २२औँ अध्यक्ष 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १२ मंगलबार १३:१८:oo

देशभरका क्याम्पसहरूमध्ये सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रूपमा रहेको पोखरास्थित पृथ्वीनारायण (पिएन) क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । योसँगै अनेरास्ववियुले पिएनमा २२औँ पटक बाजी मारेको हो ।  

१० चैतमा सम्पन्न निर्वाचनमा आफ्ना अन्य सात प्रतिस्पर्धीलाई पछि पार्दै अनेरास्ववियुका विष्णु पोखरेल अध्यक्षमा निर्वाचित भएका  हुन् । अनेरास्ववियुकाे विरासत जोगाउँदै  निर्वाचित पोखरेल पिएन स्ववियुको २२औँ अध्यक्ष बन्न सफल भएका हुन् ।

कुल नौ हजार २७० मतदातामध्ये निर्वाचनमा प्रत्यक्षतर्फ दुई हजार ८९५ जना विद्यार्थीले मत जाहेर गरेकोमा अध्यक्षमा निर्वाचित पोखरेलले एक हजार १०६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका सुशील न्यौपाने ५०३, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३, एकीकृत समाजवादीनिकट अखिल समाजवादी, नेकपा माओवादी केन्द्रनिकट अखिल र नेकपा विप्लवनिकट अखिलको संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९९ र अखिल छैटाैँका मिलन सुनारले २८ मत ल्याएका स्ववियु निर्वाचन अधिकृत प्रा.डा. रामचन्द्र पोखरेलले जानकारी दिए ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले एक हजार ४१४ मत ल्याएर विजयी हुँदा नेविसंघका विवेक भट्टराईले ६२८, अखिल क्रान्तिकारीका मिराज थापामगरले २९३, संयुक्त प्यानलका किरण खड्काले २४९, प्राज्ञिकका अभिषेक विष्टले ११८ मल ल्याए । 

कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरुङ एक हजार ३०५ मत ल्याएर विजयी हुँदा नेविसंघकी अमिषा यादवले ६४७, संयुक्त प्यानलका सचिन पौडेलले ३६०, अखिल क्रान्तिकारीकी सिर्जना शर्माले २४४ र प्राज्ञिककी अम्बिका धिमालले १४२ मत ल्याइन् ।

यसैगरी आठ सदस्यका लागि भएको निर्वाचनमा अनेरास्ववियुका उम्मेदवारहरू विजयी भए । विजयी विशाल लम्सालले एक हजार २८३, प्रचण्डशक्ति गुरुङले एक हजार २५९, जमुना शर्माले एक हजार २५५, अनुजराज अधिकारीले एक हजार २३८, सुशील अधिकारीले एक हजार २३६, वृषभ चालिसे एक हजार २२७, सुजन शर्मा सापकोटाले एक हजार १९७, एलिशा भट्टराईले एक हजार १८८ मत ल्याइन् ।

निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० सदस्यका लागि भएको निर्वाचनमा अनेरास्ववियुले एक हजार १९७ मत ल्याएर चार, नेविसंघले  ६९० मत ल्याएर तीन, अखिल क्रान्तिकारीले ३१२ मत ल्याएर एक, अनेरास्ववियूले ३०५ मत ल्याएर एक र प्राज्ञिकले १४५ मत ल्याएर एक सदस्य प्राप्त गरेका छन् ।

आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ दुई हजार ८९५ जना (३१.२४ प्रतिशत) र समानुपातिकतर्फ दुई हजार ८९२ जना (३१.१९ प्रतिशत) विद्यार्थी सहभागी भएका थिए । खसेको कुल मतमध्ये प्रत्यक्षतर्फ २६ र समानुपातिकतर्फ ७६ मत बदर भएको थियो । 

पिएनमा ०६५ सालपछि स्ववियु निर्वाचन भएको हो । १६ वर्षपछि भएको निर्वाचनमा मत भने निकै कम खसेको थियो । यसअघि ५ चैतका लागि तय भएको निर्वाचनमा समानुपातिकतर्फको मतपत्रमा अखिल छैटौँको चुनाव चिह्न छुटेका कारण रोकिएको थियो । त्यसपछि ६ चैतका लागि निर्वाचन तय भएको थियो । ६ गतेका लागि निर्वाचन गर्ने तय भएकोमा संयुक्त प्यानलसहित अखिल छैटाैँ र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि पुनः दोस्रोपटक निर्वाचन रोकिएको थियो । 

दोस्रोपटक निर्वाचन रोकिएपछि ७ चैतमा बसेको स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचनमा भाग लिएका विद्यार्थी संघ, संगठन र स्वतन्त्र उम्मेदवारहरूबिच भएको सर्वपक्षीय बैठकले १० चैतमा निर्वाचन गर्ने निर्णय गरेका थिए । सोहीअनुसार आइतबार शान्तिपूर्ण  निर्वाचन सम्पन्न भएको थियो ।
पृथ्वीनारायण सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसको रूपमा चिनिन्छ ।

हाल क्याम्पसमा १२ हजार पाँच सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी संख्यासँगै त्रिविअन्तर्गत देशकै ठुलो आंगिक क्याम्पसको रूपमा समेत रहेको पृथ्वीनारायणमा ०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको थिएन । विवादका कारण यसअघि ०७३ र ०७९ सालमा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको हो । ०७३ सालमा विद्यार्थी संगठनहरूबिचको विवादका कारण र ०७९ सालमा उम्मेदवार र निर्वाचनको विषयलाई लिएर अदालतसँगै निर्वाचन समितिमा परेको उजुरी एवं विवादका कारण निर्वाचन हुन नसकेको हो ।