मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १७ आइतबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत १७ आइतबार २१:१७:oo
Read Time : > 1 मिनेट
समाचार

पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको परामर्श छलफल  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत १७ आइतबार २१:१७:oo

प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागिताबारे आइतबार पूर्वप्रधानमन्त्री र  पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राखेको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको छ। नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्यान्ड भ्रमण हुन लागेकाले पनि यसलाई थप महत्त्वका रूपमा लिएर मुलुकका लागि विविध क्षेत्रमा लाभ हासिल गर्न सुझाव दिइएको छ।

छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरूको हितप्रति संवेदनशील हुँदै नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराए। यति वेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र असंलग्न राष्ट्रहरूको अभियानलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिँदै बिमस्टेक सम्मेलनमा राष्ट्रिय हितलाई कसरी महत्त्व दिन सकिन्छ भन्नेबारे प्राप्त सुझावलाई मनन गरिने  बताए। 

प्रधानमन्त्री ओली यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीबाट समकक्षी प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न सिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको हो।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, पूर्वपरराष्ट्रमन्त्रीहरू उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा. भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए। 

थाइल्यान्डको औपचारिक भ्रमण तथा बिस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ।