
हेटौँडाको वन विज्ञान क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)काे अध्यक्षमा नेविसंघका श्यामराज भट्ट निर्वाचित भएका छन् । नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट निर्वाचित भएका हुन् । उनी २४६ मतसहित विजयी भए ।
उनले आफ्ना प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छत्र शाहीलाई १२८ मतले पछि पारे । शाहीले ११८ मत ल्याए । यस क्याम्पसमा ३७२ जना विधार्थी मतदान प्रक्रियामा सहभागी भएका थिए ।
यस्तै, स्ववियुको सचिवमा नेविसंघ र अनेरास्ववियुको प्यानलबाट अनेरास्ववियुका सुगम भुसाल क्षेत्री विजयी भए । उनले २६७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का रमेशसिंह बोहराले १०१ मत प्राप्त गरे ।
यस्तै, कोषाध्यक्षमा पनि नेविसंघ र अनेरास्ववियुको प्यानलबाटै नेविसंघकी पूर्णिमा पन्त १६७ मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी क्रान्तिकारीकि निरुता श्रेष्ठले १०२ मत ल्याइन् । स्ववियुका सदस्यतर्फ पनि गठवन्धनकै युनिशा धामी, विनय तिमिल्सिना, रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भएका छन् ।