
कुनै वेला खुलेआम मानिस मार्ने, विरोधीलाई ‘हिटलिस्ट’मा राखेको घोषणा गर्ने फिलिपिन्सका पूर्व राष्ट्रपति रोद्रिगो दुतेर्तेलाई लागुऔषधविरुद्धको ‘क्रूर युद्ध’का क्रममा मानवविरुद्धको अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले पक्राउ गर्यो । कुनै वेला दन्डनायक भनेर चिनिएका दुतेर्तेले अब हेगमा मानवताविरुद्धको अपराधको मुद्दाको सामना गर्नुपर्ने भएको छ । दुतेर्तेले ६ वर्षसम्म फिलिपिन्समा शासन चलाए । उक्त समयमा उनले लागुऔषधविरुद्धको निर्मम कदम चलाए । आलोचकलाई खुलेआम मार्ने धम्की दिए । यस अवधिमा उनले पोपदेखि पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामासम्मका विश्व नेतालाई हदैसम्मको छुद्र टिप्पणी गरे ।
पूर्वअभियोजक, संसद् सदस्य र मेयरसमेत रहेका दुतेर्तेको राजनीतिक उदय दक्षिणी फिलिपिन्सको दाभाओ सहरबाट भएको थियो । सो नगरमा मेयर हँुदा चलाएको क्रुर नीति केन्द्रमा पनि दोहोर्याउने लोकप्रिय वाचासहित उनी २०१६ मा राष्ट्रपति निर्वाचित भए । ‘लागुपदार्थको कुलतमा रहेका तिमीहरू सबैलाई म साँच्चै मार्नेछु,’ उनले २०१६ मा आफ्नो प्रचार भाषणका क्रममा एक विशाल भिडलाई सम्बोधन गर्दै भने, ‘मसँग धैर्य छैन । मेरो कुनै मध्य मार्ग छैन । या त तिमीहरूले मलाई मार वा तिमीहरूलाई म मार्नेछु ।’
सत्तामा पुगेपछि उनले लागुपदार्थ तस्करहरूलाई उन्मूलन गर्न एक बृहत् अभियान चलाए । जसलाई अधिकार समूहले ‘मृत्यु दस्ता’ भन्ने गरेका छन् । अभियानको एक अंशको रूपमा प्रहरी र दुष्ट बन्दुकधारीले गोली चलाउँदा गरिब बस्तीका धेरै युवा मारिए । दुव्र्यसनीविरुद्धको उनको ‘कथित युद्धमा’ प्रहरीले ६ हजार मानिस मारिएको बताएको छ । तर, अधिकारवादी समूहले मृत्यु हुनेको संख्या ३० हजारसम्म पुग्न सक्ने बताएका छन् । सुरक्षाकर्मी र दुव्र्यसनकर्ताको दोहोरो भिडन्तमा निर्दोष सर्वसाधारण पनि परेका छन् । दुतेर्तेको रगतले पोतिएको राष्ट्रपतीय शासनकाल सन् २०२२ मा समाप्त भयो । अदालती कागजातअनुसार तीन वर्षपछि लागुऔषधविरुद्धको युद्धमा मारिएका पाँच पीडितका लागि केवल आठजना प्रहरीलाई दोषी ठहर्याइएको थियो ।
दाभाओका मेयर र राष्ट्रपति रहँदा दुतेर्तेले गरेको ‘मानवताविरुद्धको अपराध’को आइसिसीले अनुसन्धान सुरु गरेको छ । दुतेर्तेले लामो समयदेखि मानव अधिकार उल्लंघनको आरोपलाई अस्वीकार गर्दै आएका छन् । लागुऔषध मुद्दा घरेलु कानुन प्रवर्तनका लागि भएको उनी दाबी गर्छन् । आफू विदेशी क्षेत्राधिकारका अगाडि नझुक्ने उनले बारम्बार बताउँदै आएका छन् । आफ्नो गिरफ्तारीको दुई दिनअघि उनले हङकङका समर्थकलाई सम्बोधन गर्ने क्रममा आइसिसीको कटु आलोचना गरेका थिए । ‘मलाई आइसिसीले वा अरू केहीले वारेन्ट जारी गरेका छन् । यीनले लामो समयदेखि मलाई पछ्याइरहेका छन् । तर मैले के गल्ती गरेँ र उनीहरू मेरा पछि आएका ?’ पक्राउअघि उनले भने ।
अकस्मात् पक्राउ
तर, अचानक परिस्थितिले अर्को मोड लियो । अधिकारीहरू हङकङबाट दुतेर्ते फर्कने प्रतीक्षामा थिए । स्वदेश फर्किनेबित्तिकै उनी मनिलाको मुख्य विमानस्थलमा पक्राउ परे । उनी पक्राउको समाचारले धेरैजना स्तब्ध भए । यो कदमलाई न्यायतर्फको पहिलो कदमको रूपमा हेरिएको छ । लागुऔषध युद्धका परिवार सदस्य गुमाएका हजारौँ पीडित परिवारको यस खुसीमा प्रार्थना सभामा भाग लिन चर्चमा भेला भए । आइसिसीले दुतेर्तेले हिरासतमा ‘आत्मसमर्पण’ गरेको र सुनुवाइ ‘उचित समयमा’ हुने बताएको छ । उनी अदालतमा कहिले उपस्थित हुनेछन् भन्ने स्पष्ट गरिएको छैन । रोटरडममा अवतरण गर्नुअघि दुतेर्तेले आफ्नो फेसबुक पेजमा एक अवज्ञाकारी भिडियो सन्देश जारी गरेका थिए । ‘म प्रहरी र सेनालाई भन्दै छु कि तिमीहरू आफ्नो काम गर । म आफ्नो जिम्मेवारी बहन गर्नेछु,’ उनले भने, ‘यो लामो कानुनी प्रक्रिया हुनेछ । म मेरो देशको सेवा गरिरहनेछु ।’
अहिले नै किन पक्राउ ?
दुतेर्तेको गिरफ्तारी सम्भवतः फिलिपिन्सका दुई राजनीतिक परिवारबिचको झगडाको उपज हो । दुतेर्ते परिवार यसअघि देशको चर्चित मार्कोस राजनीतिक राजवंशसँग मिलेर चुनाव लडेको थियो । यही मिल्तीको परिणाम स्वरूप गत निर्वाचनमा उनकी छोरी सारा दुतेर्ते कार्पियोले वर्तमान राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको उप–राष्ट्रपतिको रूपमा चुनाव लडेकी थिइन् । तर, पछिल्लो समय दुवै नेताबिचको सम्बन्ध निक्कै बिग्रिसकेको छ । उनीहरू सार्वजनिक रूपमा आलोचना र दुव्र्यवहारमा उत्रिएका छन् ।
अक्टोबरमा दुतेर्ते कार्पियोले दुई घण्टाको प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा राष्ट्रपतिविरुद्ध गुनासोहरूको एक सूची प्रसारण गरिन् । त्यसक्रममा उनले ‘मार्कोसको टाउको काट्न चाहेको’ धम्कीसमेत दिइन् । त्यसपछि नोभेम्बर २३ मा एक अनलाइन पत्रकार सम्मेलनमा उनले मार्कोस, उनकी श्रीमती र सभामुख मार्टिन रोमुआल्डेजलाई मार्न एक हत्यारासँग सम्झौता गरेको दाबी गरिन्, जुन मजाक थिएन ।
दुतेर्तेले सन् २०१९ मा फिलिपिन्सलाई आइसिसीबाट अलग गरेका थिए । तर, कुनै पनि राज्यले सदस्यता अवधिमा गरेका अपराधको अनुसन्धान गर्ने दायित्व अदालतको अधिकार क्षेत्रभित्र पर्छ । उपराष्ट्रपतिसँगको विवादबिच राष्ट्रपति मार्कोसले दुतेर्तेलाई पक्राउ गर्न इन्टरपोलको अनुरोध पालना गर्न आफू बाध्य भएको बताए । ‘इन्टरपोलले सहयोग माग्यो भने हामी बाध्य छौँ, किनभने हामीसँग इन्टरपोलसँग प्रतिबद्धता छ, जुन हामीले पूरा गर्नुपर्छ । यदि हामीले आइसिसीलाई सहयोग गरेनौँ भने तिनीहरूले अब विदेशमा रहेका फिलिपिनो भगौडाहरूसँग सम्बन्धित अन्य मुद्दामा हामीलाई मद्दत गर्नेछैनन्,’ मार्कोसले भने ।
ह्युमन राइट्स वाच (एचआरडब्लु) का लागि फिलिपिन्सका अनुसन्धानकर्ता कार्लोस कोन्डेले दुतेर्तेको द्रुत गिरफ्तारी र निष्कासन एक ‘सुखद आश्चर्य’ भएको बताए । यसले धेरैलाई अचम्मित पारेको उनले प्रतिक्रिया दिए । ‘लागुऔषधविरुद्धको युद्धका परिवार सदस्य गुमाएका हजारौँ पीडितले फिलिपिन्सको न्याय संयन्त्रमा विश्वास गुमाएका छन् । त्यसैले, उनीहरूले आइसिसीमा आफ्नो अपेक्षा टिकाएको देखिन्छ,’ कोन्डेले सिएनएनलाई भने । नोबेल पुरस्कार विजेता मारिया रेसाले भनिन् कि दुतेर्तेको गिरफ्तारी देशको लागि एक प्रमुख क्षण हो र यो कदम फिलिपिन्समा वर्षौंदेखिको दण्डहीनताको अन्त्य गर्न सकिन्छ भन्ने संकेत हो ।
‘फिलिपिन्सका लागि यो ऐतिहासिक छ किनकि मानवताविरुद्धको अपराधमा फिलिपिन्सका राष्ट्रपतिलाई पहिलोपटक पक्राउ गरिएको छ । इन्टरपोलको नेतृत्वमा भएको गिरफ्तारीले वास्तवमा राष्ट्रपति दुतेर्तेको नेतृत्वको विद्यमान दण्डहीनता अन्त्य गर्यो,’ सिएनएनका मनिलाका पूर्वब्युरो प्रमुख तथा समाचार साइट र्यापलरका सिइओ तथा संस्थापक रेसाले भने ।
मानव अधिकार अभियानकर्ता अरोरा पारोङका अनुसार धेरै अधिवक्ता र लागुऔषधविरुद्धको युद्धका पीडितका परिवारका सदस्य दुतेर्तेलाई पक्राउ गरिएको खबरले हर्षित छन् । ‘खुसी, आशा र चिन्ताको मिश्रित अनुभूति छ । तथापि पक्राउको परिणाम के हुनेछ भनेर ठ्याक्कै थाहा छैन,’ आइसिसीका लागि फिलिपिन्स गठबन्धनकी सह–अध्यक्षसमेत रहेकी पारोङले भनिन् । आइसिसीको पछिल्लो कदम न्यायका लागि एक कष्टकर लामो बाटो हुने उनले चेतावनी दिइन् । ‘सुनुवाइले लामो समय लिनेछ । अन्तर्राष्ट्रिय फौजदारी अदालतमा दोषी ठहर हुन वर्षौं लाग्नेछ । लागुऔषधविरुद्धको रक्तपातपूर्ण युद्धका पीडित र पीडित परिवारका लागि पर्खनु साँच्चै गाह्रो छ,’ उनले थपिन् ।
के हो आइसिसी ?
नेदरल्यान्ड्सको हेगमा रहेको आइसिसीले आफ्ना सदस्य राष्ट्रका भूभागमा हुने युद्ध अपराध, मानवताविरुद्धको अपराध, नरसंहार र आक्रामक अपराधको अनुसन्धान र सुनुवाई गर्छ । दुतेर्तेको गिरफ्तारी र स्थानान्तरण आइसिसीका लागि एक महत्वपूर्ण विजय हो । कतिपय अवस्थामा दोषीलाई अदालत आफैँले गिरफ्तारी गर्न सक्दैन । वारेन्ट कार्यान्वयन गर्न राष्ट्रिय सरकारको सहयोगमा भर पर्छ, जुन प्रायः घरेलु राजनीति र राजनीतिक इच्छाशक्तिमा निर्भर हुन्छ । त्यसो त आइसिसीको ‘वान्टेड लिस्ट’मा रहेका धेरै व्यक्ति फरार छन् र आफूविरुद्ध लगाइएका गम्भीर आरोपबाट अविचलित छन् ।
–सिएनएनबाट