
१७औँ धर्म श्री शारीरिक सुगठन प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ पाउने भएका छन् । ११ किलो तौल भएको आकर्षक ट्रफीका साथ विजेताले १२ लाख रुपैयाँ हात पार्ने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले सोमबार जानकारी दिएका छन् । प्रधानका अनुसार प्रतियोगिता ७ देखि ९ चैतसम्म हुनेछ । तीन दिनसम्म चल्ने धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको उनले बताए । प्रतियोगिताको कुल पुरस्कार धनराशी ५२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
१७औँ धर्मश्री, प्रथम पिएल सिंह पुरुष स्पोर्टस् फिजिक्स १७० सेमि ओभर, प्रथम महिला बडी बिल्डिङ ओपन र ५० वर्षमाथिका मास्टर खुला विधा समावेश भएको प्रधानले बताए । प्रतियोगिताको पहिलो दिन ७ चैतमा ६०, ६५, ७०, ७५, ८० र ८० किलो तौलभन्दा माथिको समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ६ सय खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत्येक तौल समूहबाट अन्तिम चरणका लागि ६ जना खेलाडी छनोट हुनेछन् । प्रत्येक तौल समूहको विजेताबिच ओभरअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा हुनेछ ।
उपविजेतालाई ६ लाख पुरस्कार
प्रतियोगिताको उपविजेताले ६ लाख, तेस्रो हुनेले तीन लाख, चौथो हुनेले दुई लाख र पाँचौँ हुनेले एक लाख ८० हजार रुपैयाँ जित्नेछन् । तौल समूहमा दोस्रो हुनेले ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार र पाँचौँ स्थानमा रहने खेलाडीले २० हजार रुपैयाँ जित्ने अध्यक्ष प्रधानले बताए ।