
सिराहाको कर्जन्हा नगरपालिकाका जनप्रतिनिधिले १८ बुँदे मागसम्बन्धी खुला रूपमा बैठक बस्न नगर प्रमुखले इन्कार गरेको भन्दै नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना, जिन्सी, सूचना प्रविधि शाखामा सोमबार पुनः तालाबन्दी गरेका छन् । गत २७ फागुनमा कर्जन्हा ५, ८, ९ र ११ वडा नम्बरका अध्यक्षहरूले १८ बुँदे मागसहित गरेको तालाबन्दीपछि नगरप्रमुख भोलाप्रसाद पोखरेलले ४ चैतको बैठकमार्फत सम्बोधन गर्ने आश्वासनपछि खोलिएको थियो ।
कर्जन्हा– ८ का वडाध्यक्ष शम्भुकुमार ब्यार सुडीले नगरप्रमुखले आइतबार पठाएको पत्रअनुसार आफूहरू सोमबार बिहान कार्यालय खुलेलगत्तै पुगे पनि नगर प्रमुखले बन्दकोठामा बैठक बस्न भनेपछि आफूहरूले नमानेको बताए । ‘बन्दकोठामा हुने कार्यपालिकाको बैठकमा धेरैपटक कुरा राख्यौँ,’ उनले भने, ‘तर आलटाल मात्र हुँदै आएकाले बैठक खुला रूपले गरिनुपर्ने हाम्रो माग इन्कार गरेपछि पुनः तालबन्दी गर्नुपरेको हो ।’
वडाध्यक्षहरू प्रकाशमान श्रेष्ठ, सुडी, मो. मुस्तकिम तथा किस्मत राईलगायत स्थानीय सोमबार बिहान १० बजेतिर कार्यालय परिसरबाहिर नै बैठक गर्नुपर्ने विषयमा नगरप्रमुख पोखरेल, प्रमुख प्रशासकीय अधिकृत मनहरि बराललाई आग्रह गर्न गए पनि नमानेको उनीहरूको गुनासो छ । ‘बन्दकोठामा के हुन्छ, हुँदैन जनताले थाहा पाउँदैनन्,’ वडाध्यक्ष राईले भने, ‘त्यसैले आफूहरूले उठाएको मागको विषयमा हुने छलफल वा बैठक स्थानीय बासिन्दाको रोहवरमा खुला रूपमा हुनुपर्छ ।’ उनका अनुसार नगर कार्यपालिकाको नियमित बैठक नबस्ने, कार्यपालिकाले गरेका निर्णयहरू कार्यान्वयन गर्न आलटाल गर्ने बारेमा पटक–पटक गुनासो गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरिएको हो । ‘नगरप्रमुख र प्रशासकीय अधिकृतको मनोमालिन्य बढेकाले जनप्रनिधिहरू नै पीडित भयौँ,’ उनले भने, ‘कार्यपालिकाको बैठक नियमित बस्दैन, भएका निर्णयहरू कार्यान्वयन गर्न पनि आनाकानी गरिन्छ ।’
कर्जन्हा ६, ८, ९ र ११ का वडाध्यक्षहरूले नगरप्रमुख प्रशासकीय भवन निर्माणको निर्णय, गाउँ ब्लक जग्गाको बाँकी लालपुर्जा वितरण, नगरको हिउँदे अधिवेशन, कोल्डस्टोर निर्माणको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । उनीहरूले नगरको रोजगार शाखाको संयोजकको नियुक्ति, किसान सूचीकृत कार्यक्रमको बजेट कार्यान्वयन, भिएस भेट पदमा नियुक्ति, तोकिएको समयमा कर्यपालिका बैठक, औषधि खरिदको मागसमेत अघि सारेका छन् । त्यस्तै, छात्राहरूका लागि सेनेटरी प्याड खरिद, नगरपालिकाबाहेक अन्य ठाउँबाट नगरको योजनासम्बन्धी चेक काट्न बन्द र ०८० चैत मसान्तसम्म म्याद सकिएका सार्वजनिक पोखरीहरूको ठेक्का लगाउन, सौर्य सिमेन्ट उद्योगसम्बन्धी कार्यपालिकाले गरेको निर्णय, कमला खोला उत्खननको विषयमा गरिएको निर्णय कार्यान्वयनको माग गरिएको छ ।
नगरप्रमुख पोखरेलले वडाध्यक्षहरूले उठाएका १८ बुँदे मागको विषयमा गरिने बैठकको प्रत्यक्ष प्रसारण गर्न आफू तयार रहेको बताए । ‘मेरै कार्यकक्षमा बसेर बैठकको हरेक बुँदामा छलफल गरौँ र त्यसको प्रत्यक्ष प्रसारण गर्न तयार छु,’ उनले भने, ‘तर खुला रूपमा चौरमा बसेर बैठक राख्न सकिँंदैन ।’ नगर कार्यपालिकाको बैठक नियमित रूपमा बस्दै आएको दाबी गर्दै उनले सोमबार नगर कार्यपालिकाको बैठक बसे पनि सबै वडाध्यक्षहरूको सहभागिता रहोस् भन्ने उद्देश्यले एजेन्डामा प्रवेश नगरेको बताए । ‘बैठकका लागि तालाबन्दी गर्ने वडाध्यक्षहरू सहमत भएपछि मात्र एजेन्डा तय गरी उठाइएका मागहरूको विषयमा छलफसहित निकास निकाल्छौँ,’ उनले भने ।