
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पूर्वराजावादी समूहले विदेशी शक्तिको आडमा राजतन्त्र पुनर्स्थापना र हिन्दु राष्ट्र घोषणाको लक्ष्यसहित सुनियोजित रूपमा प्रतिगामी गतिविधि गरिरहेको ब्रिफिङ गरेका छन् । ओलीको यस्तो ब्रिफिङलगत्तै सत्तारूढ दल एमालेले गणतन्त्र पक्षधर सबै शक्तिसँग मिलेर प्रतिगामी गतिविधिको प्रतिवाद गर्ने निर्णय लिएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आपसी टेलिफोन संवादलगत्तै केन्द्रीय सचिवालयको सोमबारको बैठकले संयुक्त प्रतिवाद गर्ने निर्णय लिएको हो । ओली, देउवा र प्रचण्डबिच आइतबार प्रतिगामी प्रयास र आगामी कदमबारे टेलिफोन संवाद भएको थियो ।
एमालेका एक पदाधिकारीका अनुसार बाह्य शक्ति खासगरी भारतीय जनता पार्टीका उच्च तहका कतिपय नेता र त्यस पार्टीसँग सम्बद्ध हिन्दुवादी संगठन आरएसएसको आड–भरोसामै पूर्वराजावादीहरू सक्रिय भएका छन् । उनीहरूले ठुलै अराजकता मच्चाएर राज्यसत्ता उलटपुलट गर्ने उद्देश्यले संगठित रूपमा प्रतिगमनको प्रयास गरेको भन्दै एमालेले संयुक्त प्रतिवादतिर जाने निर्णय गरेको ती पदाधिकारीले बताए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले राजावादीहरूको सक्रियताबारे गम्भीर रूपमा ब्रिफिङ गरेका छन् । ‘उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिरको खुलेआम प्रयोग, भारतीय नेताहरूको पछिल्ला अभिव्यक्ति, त्यहाँका सञ्चारमाध्यममा पूर्वराजावादीहरूको गतिविधिहरूलाई दिइएको स्थानलगायत सबै हेर्दा हाकाहाकी नै प्रतिगमनका लागि प्रयास भइरहेकोबारेमा प्रधानमन्त्रीले निकै गम्भीरतापूर्वक ब्रिफिङ गर्नुभयो,’ ती पदाधिकारीले भने, ‘उहाँको ब्रिफिङकै आधारमा संयुक्त प्रतिवाद गर्ने र पार्टीपंक्तिलाई पनि सजग र संगठित गर्दै एकैदिन सबै वडामा जुलुस र सभा गर्ने निर्णय गरिएको छ ।’
उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराजावादीको योजनाबद्ध प्रयासले जनतामा भ्रम पैदा गर्ने भएकाले पनि चिर्नका लागि एकैदिन जनपरिचालनको निर्णय भएको बताए । उनका अनुसार प्रतिगामी प्रयासविरुद्ध टोलसम्म पार्टीपंक्ति उतार्ने मनस्थितिसहित ६ हजार ७४३ वटै वडामा एकैदिन जुलुस र आमसभा आयोजना गर्ने निर्णय भएको छ ।
ज्ञवालीका अनुसार डेढ महिनादेखि सञ्चालित पार्टीको जरा अभियानलाई प्रतिगामी षड्यन्त्रविरुद्धको अभियानमा रूपान्तरण गर्ने एमालेको तयारी छ । ‘सम्भवतः दुई–तीन दिनभित्रै अपानिमार्फत एकैदिन सबै वडामा संगठित जुलुस र सभाका लागि गरिएको निर्णय लागू गर्न निर्देशन जान्छ,’ ज्ञवालीले भने, ‘पूर्वराजावादीहरूको प्रयास व्यवस्था उल्ट्याउने तहसम्म त पुग्दैन । तैपनि आवश्यक पर्यो भने जुनसुकै वेला प्रतिवाद गर्ने मनस्थितिका लागि पार्टीपंक्ति तयारीमा राख्ने गरी अगाडि बढ्छौँ ।’
बैठकमा ओलीले प्रतिगामी शक्तिले हाकाहाकी अराजकता मच्चाएर राज्यसत्ता उल्ट्याउन खोजेको र राजावादी हौसिए पनि उनीहरूको उद्देश्य सफल हुन नदिइने बताएका थिए । ‘पूर्वराजावादीहरू हौसिएर हाकाहाकी अराजकता मच्चाएर राज्यसत्ता उल्ट्याउने प्रयासमा लागेका छन् । तर, हामी त्यस्ता योजना र षड्यन्त्र कुनै हालतमा सफल हुन दिनेछैनौँ,’ ओलीको भनाइ थियो ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिगामी प्रयास सफल नहुने बताए । ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणति हो । विगतमा आन्दोलनका क्रममा गरिएका सहमतिविपरीत राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत् भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ,’ उनले भने ।
बैठकले आमजनता र विशेष गरेर युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र मानव अधिकारको महत्वलाई गम्भीरतासाथ आत्मसात् गर्न, निरंकुशकालमा अधिकार खोसिँदाको पीडालाई अनुभूत गर्न, साढे दुई शताब्दी हाराहारी लामो राजतन्त्रको एकछत्र शासनकालमा मुलुकको अवस्था कस्तो थियो भन्ने तुलनात्मक अध्ययन गर्न आह्वान गरेको छ ।
‘हामी २१औँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक विषय हो भन्नेमा विशेष जोड दिन चाहन्छौँ,’ बैठकपछि जारी विज्ञप्तिमा छ, ‘हाम्रो पार्टी नेपालको संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्यायजस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ ।’
एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चितता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको जनाएको छ ।
त्यसैबिच, एमालेले राष्ट्रिय सहमतिको सरकार बेमौसमी विषय भएको टिप्पणी गरेको छ । ‘यो एकदमै बेमौसमी विषय हो, यसमा हामी प्रवेश गरेनौँ,’ उपमहासचिव ज्ञवालीले भने, ‘यस्तो वेलामा पनि भागबन्डा खोज्ने भनेको हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो ?’