मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ४ सोमबार १o:३६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी कामकाजी भाषा प्रशिक्षण तालिम सुरु 

काठमाडौं महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १o:३६:oo

काठमाडौं महानगरपालिकाले आइतबार (चैत ३) देखि कर्मचारीहरूका लागि नेपाल लिपि र रञ्जना लिपिलेखन तालिम सुरु गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपराह्न ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ।

तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय)मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे। महानगरपालिकासँगै स्थानीयवासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनुपर्नेमा उनकाे  जोड थियो । ‘आफ्नो लिपि, संस्कार, संस्कृति, परम्परा, थरजस्ता पहिचान भन्न अप्ठ्यारो मान्नुहुँदैन । अप्ठ्यारो मान्नुपर्ने वातावरण बनाउनुहुँदैन,’ संगतले भने, ‘सरकारी कामकाजी भाषाका रूपमा बागमती प्रदेशले मान्यता दिएका भाषामध्येको नेपाल भाषासँगै तामाङ भाषाको पनि तालिम चलाउँछौँ ।’  

‘वडा नम्बर १८ ले ०७४ देखि नै नेपाल भाषामा निवेदन लिन थालेको हो । कार्यालयमा कार्यरत कर्मचारीहरूमा भाषाको ज्ञान भयो भने निवेदन कार्यान्वयनमा सजिलो हुने रहेछ । यसकारण अहिले थालिएको तालिमले नतिजा दिन्छ भन्ने लागेको छ,’ तालिममा सम्पदा तथा पर्यटन समितिका सदस्य न्हुच्छेकाजी महर्जनले भने, ‘नेपाल लिपि र नेपाल संवत् देशकै नाममा विकसित भएका मौलिक पहिचान हुन् । संयुक्त राष्ट्र संघमा नेपाललाई छुट्टै राज्यका रूपमा मान्यता दिलाउन नेपालमा नै विकास भएको रञ्जना लिपिलाई आफ्नो लिपिका रूपमा पेस गरिएको थियो । यस्ता इतिहास बचाउन अहिले थालिएको प्रशिक्षणको ठुलो योगदान हुनेछ ।’

लिपि लेखन मात्र नभई महानगरपालिकाको पहिचान भएकाले यसलाई सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । ‘हरेक विभागका दुईजना अनिवार्य हुने गरी अहिलेका लागि लेख्य सीपसँग सम्बन्धित विषयमा तालिम सञ्चालन गरिएको छ । यसपछि कथ्य सीप विकासको तालिमलाई निरन्तरता दिइनेछ,’ राईले योजना सुनाइन् । तालिममा नेपाल लिपि, रञ्जना लिपि, अंक, लिपि लेखन सीप (क्यालिग्राफी) र हस्तलिखित दस्ताबेज अध्ययन गर्न सिकाइनेछ । 

‘नेपाल भाषा र रञ्जना लिपिमा १३ स्वर वर्ण हुन्छन् । यसमध्येका ६ वटालाई मान स्वर (मुख्य) वर्ण र यसका चारथरी मात्रा रूपमा प्रयोग गरिन्छ । व्यञ्जन वर्ण ४१ वटा हुन्छन् । यी वर्णहरू देवनागरिकमा भएका ३६ वटामा ङ पछाडि ‘ङ्ह’, न पछाडि ‘न्ह’, म पछाडि ‘म्ह’, र पछाडि ‘र्‍ह’ र ल पछाडि ‘ल्ह’ थपिएर ४१ वटा हुन्छन् ।’ नेपाल लिपि गुथिका अध्यक्ष एवं तालिमका मुख्य प्रशिक्षक अनिल स्थापित भन्छन्, ‘नेपाल भाषा ह्रस्वमय भाषा हो । संस्कृतबाट आएका शब्दहरूलाई पनि तदभव बनाएर प्रयोग गर्न थालिएको छ ।’

नेपालमा लुम्बिनीको अशोक स्तम्भमा लेखिएको लिपिलाई पहिलो लिपिका रूपमा मानिन्छ । त्यो ब्राह्मी लिपि हो । नवौँ शताब्दीमा नेपाल लिपिको सुरुवात नेपालमा नै भएको हो । दसाैँ शताब्दीको प्रारम्भ (नेपाल संवत् २८) को समयमा चिकित्सा विद्यासँग सम्बन्धित नेपाल भाषाको हस्तलिखित पुस्तक ‘लंकावतार’ लेखिएको पाइन्छ ।

१३औँ शताब्दीलाई यसको महत्त्वपूर्ण विकास समयका रूपमा लिइन्छ । त्यस समयमा धर्म, वास्तुकला, साहित्य, कर्मकाण्ड, ज्योतिष शास्त्र, सांस्कृतिक क्रियाकलाप तथा परम्परा, चिकित्सा ज्ञान, सहरी योजनाजस्ता विविध विधाका ग्रन्थहरू लेखिएका पाइन्छन् । यिनीहरू हस्तलिखित भएका कारण अहिलेजस्तो धेरै संख्यामा हुँदैनथे । प्रशिक्षक स्थापितका अनुसार राष्ट्रिय अभिलेख संग्रहालयमा करिब १५ हजार र आशा सफूकुथिमा करिब २० हजार यस्ता हस्तलिखित ग्रन्थहरू सुरक्षित गरिएको छ । संग्रहालय सरकारी संयन्त्र हो भने सफूकुथि लिपि जोगाउन समुदायस्तरबाट स्थापना गरिएको अभिलेखालय हो ।

 लेखन र छपाइमा प्रविधि आएसँगै ०७३ सालदेखि यसलाई युनिकोडमा प्रयोग गर्न थालिएको छ । प्रविधिमार्फत भाषानुवाद गरेर पनि अहिले नेपाल लिपि र रञ्जना लिपि अध्ययन गर्न सकिने भएको छ ।