
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २६७ रनको लक्ष्य दिएको छ। रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बागमतीले आशुतोष घिरैया र शुभ कंसाकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६६ रन बनायो।
घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै, कंसाकारले ६८ बलको सामना गर्दै पाँच चौका र चार छक्काको मद्दतमा ७७ रन बनाए ।
यसैगरी, ईशान पाण्डेले ३६, पृथु बाँस्कोटाले १५ तथा प्रतिस जिसीले १५ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई–दुई तथा नारायण जोशी र राहुल भण्डारीले एक–एक विकेट लिए । अहिले सुदूरपश्चिमले बागमतीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।