
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लन्डन पुगेका उनले जलवायुका असरबारे ध्यानाकर्षण गराएका हुन् ।
मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय (एफसिडिओ) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुगेका थिए । उनी बिहीबार साँझै बकिंघम दरबारमा राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्री, जल सुरक्षा, जलवायु परिवर्तन र प्रकृतिका विज्ञ र विश्व बैंक, युएनइपी, युएनआइसिइएफ, आइएफएडी र ग्लोबल कमिसन अन द इकोनोमिक्स अफ वाटरलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
मन्त्री ठकुरीले प्रणाली र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका जीवन–मरणका चुनौतीको सामना गर्न नेपाल सरकारले लिएका पहलबारे प्रकाश पारेका थिए । सो अवसरमा उनले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’बारे जानकारी गराएको मन्त्री ठकुरीको सचिवालयले जनाएको छ।
संवादमार्फत नेपाल सरकारले बहुपक्षीय अन्तर्क्रिया गर्न थालेको उल्लेख गर्दै मन्त्री ठकुरीले यो विश्वव्यापी संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा हुने बताए । उनले हिमालय क्षेत्रको जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न आवाज उठाउन र समर्थन जुटाउन नेपालको बलियो पहलबारे जोड दिए ।