
चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । अर्थात् दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख रुपैयाँ खर्च बढी छ।
त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रकको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३.३७ प्रतिशत मात्रै छ । सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म ८२ अर्ब ३३ करोड ६० लाख रुपैयाँबराबर मात्रै खर्च भएको देखिएको छ।
सरकारले चालू आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५.१२ प्रतिशत अर्थात् आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाखबराबरको खर्च भएको छ ।
चालू शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१.२१ प्रतिशत अर्थात् पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाखबराबर खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७.०७ प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाखबराबर खर्च भएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाखबराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५०.२ प्रतिशत अर्थात् रु. सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाखबराबर असुली भएको छ । जसमध्ये, कर राजस्वतर्फ रु. १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९.७४ प्रतिशत अर्थात रु. ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख संकलन भएको छ ।
त्यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६०.३६ प्रतिशत अर्थात् रु. ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ । सरकारको वैदेशिक अनुदान संकलन पनि निकै कमजोर छ । चालू आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७.५१ प्रतिशत अर्थात् रु. नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ । रासस