मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १२:५o:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

१०औँ राष्ट्रिय खेलकुद : गण्डकीले सुरु गर्‍यो तयारी

छुट भएका खेलाडीहरुलाई ५ चैतसम्म दर्ताको लागि समय  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १२:५o:oo

आउँदो जेठ पहिलो सातादेखि हुने गरी मिति तय भएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आफ्नो तयारी सुरु गरेको छ। आउँदो ३ देखि १० जेठ ०८२ मा कर्णाली प्रदेशमा हुने प्रतियोगिताका लागि गण्डकीले आफ्नो तयारी सुरु गरेको हो । प्रदेश खेलकुद परिषद्ले प्रदेश खेलकुद संघहरूसँग प्रतियोगिताका लागि प्रारम्भिक बैठकसँगै छलफल कार्यक्रम आयोजना गर्दै आफ्नो तयारी सुरु गरेको हो ।

यसअघि गण्डकीले माघ मसान्तसम्मको समय दिएर खेलाडी दर्ताका लागि आह्वान गरेकोमा प्रतियोगिताको मिति सरेसँगै दर्ता हुन छुटेका खेलाडीलाई पुनः दर्ताका लागि समय दिइएको छ । यसअघि दर्ता भएकासँगै अब अन्य खेलाडीले समेत आफ्नो नाम दर्ता गर्न पाउने भएका छन् । यसअघि गण्डकीका ११ जिल्लाबाट प्रतियोगिताका लागि तीन हजार ३७६ जना खेलाडी दर्ता भएका परिषद्का कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । भुसालका अनुसार दर्ता भएका खेलाडीमा कास्कीका एक हजार ५८, नवलपुरका ५६१, बाग्लुङका ३०७, मनाङका ३०३, पर्वतका २५९, स्याङ्जाका २४४, तनहुँका २०६, म्याग्दीका १६१, गोरखाका १४२, लमजुङका ७२ र मुस्ताङका ६३ जना रहेका छन् ।        

खेलाडीको पुनः दर्तापछि जिल्ला खेलकुद विकास समितिको समन्वयमा १५ देखि २० चैतसम्म पालिकास्तरीय छनाेट गर्ने, त्यसपछि २५ चैतभित्र जिल्लास्तरीय छनाेट सम्पन्न गर्ने, २६ चैतदेखि ५ वैशाखसम्म प्रदेशस्तरीय छनाेट प्रतियोगिता सम्पन्न गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाडी संख्याका आधारमा अन्तिम छनाेट गर्ने परिषद्का सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए । प्रदेशस्तरीय छनाेट सबै जिल्लामा हुने गरी कार्यक्रम तय गरिने शर्माले जानकारी दिए । खेलाडीहरूको छनोटपछि उनीहरूलाई तीन भागमा वर्गीकरण गरेर सोहीअनुसार बन्द प्रशिक्षण सञ्चालन गर्ने शर्माको भनाइ छ ।

परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले सबै एकजुट भएर अघि बढेर खेलाडीलाई  हौसला प्रदानसँगै उनीहरूलाई उत्साहित बनाउने गरी तयारीमा जुट्न खेल संघका पदाधिकारी एवं प्रतिनिधिहरूलाई आग्रह गरेका थिए । तयारी र खेलाडी छनाेटका क्रममा कुनै समस्या आइपरे समाधानका लागि परिषद् तयार रहेकाले पालिका, जिल्ला र प्रदेशको छनाेटबाट उत्कृष्ट खेलाडी आउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।  

सुटिङ संघ गण्डकीका महासचिव पुरण कुँवरले दसाैँ तयारी सुरु गर्दै गर्दा खेल सामग्री र मैदानको आफूहरूलाई अभाव रहेको बताए । छिटोभन्दा छिटो खेल सामग्रीसँगै अन्य कुराको व्यवस्थापन हुन आवश्यक रहेको उनकाे भनाइ छ । स्क्वास संघ गण्डकीका अध्यक्ष अशोक रञ्जितले यसअघिको प्रतियोगिताजस्तै पदक ल्याउने गरी आफूहरूले तयारी गरेको बताए । प्रदेशले व्यवस्थापन राम्रो गरे आशाअनुसारको प्रतिफल पाउन सकिने बताए ।

पौडी संघ गण्डकीका अध्यक्ष आनन्द कुँवरले अभ्यासका लागि पौडीपोखरी नै नभएको बताए । पौडीमा धेरै पदक जित्ने खेलाडी गण्डकीका भए पनि उनीहरू विभागीयसँगै अन्य टोलीमा आबद्ध रहेकाले उनीहरूलाई गण्डकीमा आबद्ध गर्ने गरी आफूहरू लागेको बताए । हक्की संघका कुमार गुरुङले तयारीका लागि आफूहरू जुटे पनि मैदानसँगै खेलसामग्री अभाव रहेको बताए । यी कुराहरू नै नभएपछि के गर्ने भन्दै उनले ११ ए साइड खेल्नका लागि मैदानको अभाव रहेको उनले बताए । 

एथलेटिक्स संघ गण्डकीका अध्यक्ष हरिबहादुर बरुवालले प्रतियोगिता तेकिएको समयमा हुनुपर्ने बताउँदै खेलाडीले पाउने सेवा, सुविधा र आवश्यक मैदान उपलब्ध गराउनुपर्ने बताए । प्रदेशमा कसरी धेरैभन्दा धेरै पदक ल्याउन सकिन्छ भनेर बैठकमा छलफल भएको उनले बताए ।