मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार ११:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मेचीनगर गोल्डकप : उपाधि जित्न आयोजक काँकडभिट्टा र चर्च ब्वाइज तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार ११:४६:oo

आयोजक काँकडभिट्टा ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेडले शनिबार हुने मेचीनगर गोल्डकपको उपाधि जित्न खेल्ने बताएका छन्। फाइनल खेल दिउँसो ३ बजे मेचीनगरस्थित काँकडभिट्टा खेलमैदानमा हुनेछ । फाइनलको टिकटदर एक सय तोकिएको छ । फाइनलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै दुवै टोलीका कप्तान र प्रशिक्षकले पहिलोपटक च्याम्पियन बन्न टोली तयार रहेको सुनाए । 

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलअघि एक दिन विश्राम पाउँदा टिमलाई सहज हुने बताए । ‘फाइनलअघि एक दिन विश्राम पाएका छौँ। लगातार खेल्दा गाह्रो भएको थियो । फाइनल जित्न खेल्नेछौँ । तर, विपक्षीलाई कमजोर रूपमा लिँदैनौँ,’ उनले भने ।

पाँच वर्षपछि प्रतियोगिता हुँदा नयाँ च्याम्पियन पाउने टुंगो लागेको छ । ०७१ बाट सुरु भएको प्रतियोगिताको पहिलो उपाधि बिर्तामोड युनाइटेड, दोस्रोपटक झापा ११, तेस्रोपटक विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौथो संस्करणमा अर्को विभागीय टोली नेपाल पुलिस क्लब  च्याम्पियन भएको थियो। 

श्रेष्ठको प्रशिक्षणमा चर्च ब्वाइजले यसपटक झापा गोल्डकप, बागमती गोल्डकप र फाल्गुनन्द गोल्डकपको उपाधि जितिसकेको छ। यसपटक मोफसलमा चर्च ब्वाइजले खेलेको १० मध्ये आठ प्रतियोगितामा फाइनलमा स्थान बनाएको छ। 

कप्तान एकराज बुढाथोकीले लगातार खेल्दा थकित भए पनि मोसफलको अन्तिम प्रतियोगिता हुँदा जित्न खेल्ने प्रतिक्रिया दिएका छन्। चर्च ब्वाइजले प्रतियोगिताको पहिलो खेलमा नेपाल सुपर लिग (एनएसएल)को झापा एफसीलाई सडेनडेथमा हराएको थियो । सेमिफाइनलमा ए डिभिजन लिग पूर्वविजेता मच्छिन्द्र एफसीविरुद्ध कमब्याक गर्दै ४–३ को जित निकाल्न सफल भएको हो । 

सेमिफाइनलमा विदेशी खेलाडी अबयोमी फाकुन्लेले ह्याट्रिक गरेको थिए । उनीसँगै टिममा नेपाल राष्ट्रिय टिमबाट खेलिसकेका सुरजजिउ ठकुरी, नेपालको उमेर समूहबाट खेलेका समीर तामाङ, राजेश परियार, जया गुरुङ, गौरव श्रेष्ठ टिममा छन् । विदेशी खेलाडी सर्ज डिका र रिचार्ड विल्सनको प्रदर्शनले टोलीको आत्मविश्वास बढाएको छ । यता, आयोजक काँकडभिट्टासमेत घरेलु समर्थकको साथ घरमै उपाधि राख्ने योजनामा छ । यस सिजन पहिलोपटक फाइनलमा स्थान बनाएको आयोजक भने पहिलो अवसरमा नै उपाधि जित्ने दाउमा छ । 

प्रशिक्षक मुन्ना सुब्बाले घरमै उपाधि राख्न तयार रहेको बताएका छन् । ‘हामीसँग जति खेलाडी छन् । ती सबै क्षमतावान् छन् । चर्च ब्वाइज बलियो टोली हो । तर, हामी घरमै उपाधि राख्न खेल्छौँ । घरेलु समर्थकलाई खुसी दिनेछौँ ।’टिमका उपकप्तान दिवस उराउले पनि उपाधि जित्न खेल्ने बताए । आयोजक काँकडभिट्टाले पहिलो खेलमा भारतको जर्जियन एफसीलाई ४–२ तथा सेमिफाइनलमा धरान एफसीलाई सडेनडेथमा हराउँदै उपाधिनजिक पुगेको हो । 

टोलीमा कप्तान खामिर गिल्सानसँगै गोलकिपर विश्वास चौधरी, दिवस, पासाङ लामा, विवेक गुरुङ, निशान लिम्बूजस्ता खेलाडी छन् । विदेशी खेलाडी रोबार्ट, इब्राहिम र फ्राङ्कुलिन कुइटे टलाले पनि घरेलु समर्थकको मन जित्ने प्रदर्शन गर्दै आएका छन् । फाइनलमा पनि टिमले उनीहरूसँग ठुलै आशा गरेको छ । झापा जिल्ला फुटबल संघ र मेचीनगर खेकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।  

होटेल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी, उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । २४ फागुनबाट सुरु भएको प्रतियोगिताको फाइनलको सम्पूर्ण तयारी पूरा भएको संयोजक श्रीप्रसाद मैनालीले बताएका छन् ।