
कर्णाली प्रदेशको हिमाली क्षेत्र जुम्लामा पानी उद्योग (यार्सा मिनिरल्स वाटर) पुनः सञ्चालनमा आएको छ । ०७३ सालमा पहिलोपटक एक करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको उद्योग बन्द भएको केही वर्षपछि पुनः सञ्चालनमा आएको हो । पातारासी गाउँपालिका– ६, उर्थुचौतारामा स्थापित उद्योग प्राविधिक कारणले केही वर्ष बन्द भएको थियो । तर, उक्त समस्या हल भएसँगै पुनः सञ्चालनमा ल्याएको उद्योग सञ्चालक गणेश रोकायाले बताए । उनले भने, ‘पानीको जार मंसिरदेखि नै बजारमा आइसकेको छ । बोतलमा भने फागुन दोस्रो सातादेखि बजारमा आएको हो ।’
हिमाली जडीबुटीमिश्रित मूलको पानी शुद्धीकरण गरी जार र बोतलमा बिक्री–वितरण भएको रोकायाको भनाइ छ । पछिल्लो चरणमा २० लाख खर्च गरी सञ्चालनमा ल्याइएको उद्योगमा हाल तीनजना कर्मचारीले रोजगारी पाएका छन् । ‘रोजगारका लागि बिदेसिने युवाको लाम छ । स्थानीयस्तरमै केही स्वरोजगारमूलक काम गरौँ र दुई–चार युवालाई भए पनि रोजगार दिऔँ भनेर यही उद्योग सुरु गरियो,’ उनले सुनाए ।
उद्योगले अहिले प्रतिकार्टुन एक सय ९० रुपैयाँ र प्रतिजार ७० रुपैयाँसम्ममा बेचिरहेको छ । यार्सा मिनिरल्स वाटर बजारीकरण गर्दै आएका तोरनसिंह कठायतका अनुसार बाहिरको पानीभन्दा यहाँ उत्पादित पानी सस्तो मूल्यमा बिक्री भइरहेको छ । डिलरलाई एक सय ९० र अरू व्यापारीलाई दुई सय रुपैयाँमा बिक्री गर्ने गरिएको कठायतले जानकारी दिए । बाहिरबाट आएको पानी फुटकरमा प्रतिबोतल ३० रुपैयाँ, कार्टुनमा दुई ३० देखि अढाई सय रुपैयाँसम्म बिक्री भइरहेको पनि उनले बताए ।
पहिले यहाँ बिजुली नहुँदा जेनेरेटर चलाउनुपर्ने अवस्था रहेकाले पानी बाहिरको भन्दा महँगो पर्न जान्थ्यो ।
हाल करिब एक मेगावाटको चुकेनी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएपछि पानी उद्योग सञ्चालन गर्न थालिएको छ, जसले गर्दा उपभोक्तालाई मूल्य पनि सस्तो पर्न गएको हो । पछिल्लो समय बिजुलीको पहुँच पुगेपछि पानीदेखि मदिरा उत्पादन गर्ने डिस्टिलरी, ग्रिललगायत साना उद्योग जिल्लामै सञ्चालन हुन थालेका छन् । जिल्लामा हालसम्म विभिन्न प्रकृतिका चार हजार चार सय ७० उद्योग दर्ता भएका छन् ।