
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल मेडिकल सुपरिटेन्डेन्ट (मेसु) विहीन बनेको छ । माघ २७ गते अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) श्रीराम तिवारी गएपछि अस्पताल मेसुविहीन भएको हो। अस्पतालका निमित्त मेसु दिलीप साहका अनुसार माघ २७ गते काठमाडौं गएका तिवारी अझै फर्केका छैनन्। मेसु नहुँदा अस्पतालमा आर्थिक तथा प्रशासनिक कामकाजमा समस्या भइरहेको उनले बताए ।
‘आमा बिरामी हुनुभएकाे छ भन्दै काठमाडौं जानुभयो, त्यसपछि फर्किनुभएको छैन,’ निमित्त मेसु साहले भने। तिवारीलाई यस विषयमा बुझ्न सम्पर्क गर्दा उनले फोन उठाएनन्। निमित्त मेसु साहले होलीपछि मेसु आउने आश्वासन आएको बताए। ‘उहाँ नै आउनुहुन्छ कि अर्को मेसु आउनुहुन्छ थाहा भएन, तर होलीपछि कोही आउने आश्वासन आएको छ,’ निमित्त मेसु साहले भने।
अस्पतालमा चिकित्सक समयमा नआउने, औषधि नभेट्ने, जाँचका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ। स्थानीय राजकुमार दासका अनुसार बिहान ओपिडीमा ११ बजे चिकित्सक आउने गरेका छन्। ‘११ बजे चिकित्सक आउँछन्, फेरि १ बजेदेखि २ बजेसम्म लन्च टाइम भनेर गइहाल्छन्,’ उनले भने, ‘फेरि २ बजे आएर ३ बजे निस्किन्छन्।’
अस्पतालमा सेवा लिन पुगेका बिरामीहरूले एक दिनमा अस्पतालमा जाँच गराएर फर्किने अवस्था नरहेको बताउँछन्।सेवाग्राही ललिता रायले अस्पतालमा बिमाका अधिकांश औषधि नभेट्ने गरेको बताइन् । ‘बिमाका अधिकांश औषधि भेटिँदैन, पाँच–सात दिनमा आउँछ भन्ने गर्दछन्, तर कहिल्यै आउँदैन, सधैँको यही रवैया छ।’
दुई साताअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि गुनासो आएपछि अस्पतालकाे अनुगमन गरेका थिए। अनुगमनको क्रममा उनले ओपिडीको समयमा चिकित्सकहरू क्लिनिकमा रहेको भेट्टाएका थिए।