
किभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूले युक्रेन युद्धमा युद्धविराम सुरक्षित गर्न सक्ने आशा व्यक्त गरेका छन्।
संयुक्त राज्य अमेरिकाले रुसलाई विना कुनै सर्त शत्रुतालाई रोक्न सहमत होस् भन्ने चाहेको अधिकारीहरूले बताएका छन्। क्रेमलिनले यस साता सहमत भएको अमेरिकी–युक्रेनी प्रस्तावको विवरणको प्रतीक्षा गरिरहेको बताएको छ र विगत तीन वर्षमा दसाैँ हजारलाई मृत्युको मुखमा पुर्याएको लडाइँ रोक्ने आफ्नो तत्परताको कुनै संकेत दिएको छैन।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताए। पुटिनले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने संकेत दिएको छ। ‘हामी अहिले बोलिरहेकै वेला मानिसहरू रुस गइरहेका छन् र आशा छ कि हामी रुसबाट युद्धविराम प्राप्त गर्न सक्छौँ,’ ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको ओभल अफिस बैठकका क्रममा पत्रकारहरूलाई भने।
ह्वाइट हाउसले गाजा र युक्रेन युद्धका मध्यस्थकर्ता ट्रम्पका दूत स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको छ। बुधबार ट्रम्पले पुटिनसँग कुरा गर्ने कि नगर्ने उल्लेख गरेनन्। तर, मस्कोबाट ‘सकारात्मक सन्देश’ आएको बताउँदै भने, ‘मलाई आशा छ कि उहाँले युद्धविराम गर्नुहुनेछ।’
‘यदि लडाइँ रोक्न सकियो भने मलाई लाग्छ यो भयानक रक्तपात अन्त्य गर्ने ८० प्रतिशत बाटो हुनेछ,’ ट्रम्पले भने। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले मस्कोको सहमतिविना कुनै सर्त चाहेको बताए।
‘यही कुरा हामी जान्न चाहन्छौँ– यदि उनीहरू विनासर्त यो गर्न तयार छन् भने,’ क्यानडामा जी–७ बैठकमा जाने विमानमा रुबियो भने, ‘यदि जवाफमा ‘हो’ भने, त्यसपछि हामीलाई थाहा छ कि हामीले वास्तविक प्रगति गरेका छौँ र शान्तिको वास्तविक सम्भावना छ। यदि उनीहरूको जवाफमा ‘होइन’ भने, यो अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ र यसले उनीहरूको अभिप्राय स्पष्ट पार्नेछ।’
रुसी समाचार एजेन्सीहरूले पहिले नै सिआइए र रुसको एसभिआर विदेशी गुप्तचर एजेन्सीका प्रमुखहरूले केही वर्षमा पहिलोपटक फोन वार्ता गरेको खबर दिएका थिए। रुबियोले क्यानाडाको चार्लोभिक्समा भएको जी–७ बैठकमा पहलको बारेमा अपडेट दिने तय थियो।
फ्रान्स, बेलायत, जर्मनी, इटली र पोल्यान्डका रक्षामन्त्रीहरू पेरिसमा भेला भएर उनीहरूले युक्रेन र कुनै पनि युद्धविरामलाई कसरी समर्थन गर्न सक्छन् भन्नेबारे छलफल गरेका थिए।
मंगलबार साउदी अरेबियामा भएको बैठकमा सहमत भएको अमेरिका–युक्रेन प्रस्तावमा क्रेमलिनले तत्काल कुनै टिप्पणी नगरेको वेला रुसी विदेश मन्त्रालयले यस महिनाको सुरुमा अस्थायी युद्धविराम अस्वीकार्य हुने बताएको थियो।
ट्रम्पले रुसले सम्झौता गर्न अस्वीकार गरेमा ‘विनाशकारी’ प्रतिबन्धहरू लाग्न सक्ने बताए। ‘म आर्थिक रूपमा यस्ता कुराहरू गर्न सक्छु जुन रुसका लागि धेरै नराम्रो हुनेछ। म त्यसो गर्न चाहन्नँ, किनभने म शान्ति चाहन्छु,’ उनले भने।