
मिथिला सांस्कृतिक विकास केन्द्रले प्रत्येक वर्ष मनाउँदै आएको फगुवा फुरदंग कार्यक्रम यसपटक पनि भव्यताका साथ सम्पन्न गरेको छ। मिथिलामा होली संस्कृतिसँग जोडिएकाले केन्द्रले प्रत्येक वर्ष होलीका लोकगीत (होरैया), कवितालगायत विविध विधामा प्रस्तुतिसहित मनाउँदै आएको छ।
यसपटक भारतको मधुवनीबाट आएका सामाजिक सञ्जालका भाइरल कलाकार सोनु र हिमांशुले फगुवा फुरदंगको कार्यक्रमलाई थप ऊर्जा दिए। टिकटकमा भाइरल रहेकी कवि मिस आर्टले भ्रष्टाचार उपर जोडदार प्रस्तुत गरिन्। कार्यक्रममा काशीकान्त झा, मनोज झा मुक्तिलगायतका कविहरू तथा होरैयाहरूले सहभागीहरूलाई मन्त्रमुग्ध बनाए।
केन्द्रका अध्यक्ष ताराकान्त झाले अध्यक्षता गरेको सो कार्यक्रममा यसपटक भक्चोन्हरको उपाधि नेपाल पत्रकार महासंघ महोत्तरीका नवनिर्वाचित अध्यक्ष महेशकुमार दासलाई प्रदान गरिएको छ। ढहलेल श्रीको उपाधिबाट कवि काशीकान्त झा विभूषित भए।
समाजमा विशेष योगदान पुर्याउनेलाई थप ऊर्जा प्रदान गर्न उक्त उपाधि प्रदान गरिँदै आएको छ। कार्यक्रममा अध्यक्ष झाले उपाधि व्यंग्यात्मक कोणबाट प्रदान गरिए पनि यसको भाव उपाधि पाउनेको सम्मान गर्नु नै रहेकाले यसको मर्यादा राखिराख्न आग्रह गरे।