मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Thursday, 13 March, 2025
ओवेन जोन्स
२o८१ फाल्गुण २९ बिहीबार १o:२४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पकालमा खुम्चिँदै अभिव्यक्ति स्वतन्त्रता

Read Time : > 2 मिनेट
ओवेन जोन्स
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार १o:२४:oo

ट्रम्पले आफूले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरेको दाबी गर्दै आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा सरकारको सेन्सरसिप अन्त्य गरेको घोषणा गरेका थिए । यसैबिच जेडी भान्सले युरोपमा ‘अभिव्यक्ति स्वतन्त्रता खतरामा छ’ भनेर चेतावनी पनि दिएका थिए । तर, ट्रम्पवादले वास्तविकतालाई तोडमोड गरी विरोधीलाई अलमल्याउने काम गर्छ । अभिव्यक्ति स्वतन्त्रताको गुणगान गाएको सोही दिन ट्रम्पले ‘अवैध प्रदर्शन’ गर्न दिने शैक्षिक संस्थाको संघीय अनुदान रोक्ने चेतावनी दिए, जुन प्रस्ट रूपमा प्यालेस्टाइन पक्षधर प्रदर्शनलाई तारो बनाउन दिइएको हो ।

उनले आन्दोलनकारीलाई जेल हाल्ने वा देशनिकाला गर्ने र अमेरिकी विद्यार्थीलाई निष्कासन वा पक्राउ गर्ने धम्की दिएका थिए । ट्रम्पको पहिलो निसानामा कोलम्बिया विश्वविद्यालय प¥यो, जसले यहुदीद्वेष रोक्न असफल भएको आरोपमा ४० करोड डलरको संघीय अनुदान गुमायो । हार्बर्ड र क्यालिफोर्निया विश्वविद्यालयसहित कम्तीमा नौ अन्य क्याम्पस पनि यो कारबाहीको सम्भावित निसानामा छन् । यी कलेजमा प्यालेस्टिनीविरुद्ध इजरायली आक्रमणको विरोध गर्दै इजरायलसँग सम्बन्धित लगानी फिर्ता गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन भएका थिए । ट्रम्पवादले इजरायलको आलोचनालाई यहुदीद्वेषसँग जोड्छ, जसलाई एलिस स्टेफानिक र इलन मस्कजस्ता मुख्य सहयोगीले समर्थन गर्छन् । स्मरण रहोस्, मस्कले ट्रम्पको र्‍यालीमा नाजी सलाम प्रदर्शन गरेका थिए ।

ट्रम्पले ठुलो संख्याका डेमोक्रेट समर्थक यहुदीले ‘आफ्नो धर्मसँग घृणा गर्छन्’, ‘इजरायलसँग घृणा गर्छन्’ र ‘आफैँप्रति लज्जित बन्नुपर्छ’ भन्ने टिप्पणी गरेका थिए । उनले आफू राष्ट्रपतीय चुनाव हारे यी यहुदी जिम्मेवार हुने चेतावनी दिएका थिए । विश्वविद्यालयका प्रदर्शनमा संलग्न यहुदी विद्यार्थीले हस्ताक्षर गरेर प्रदर्शन यहुदीद्वेषी रहेको भन्ने आरोप अस्वीकार गरेका थिए । कोलम्बिया विश्वविद्यालयले पनि आफ्ना नरसंहारविरोधी यहुदी विद्यार्थी र संकायलाई तारो बनाएका थिए ।

प्रदर्शन सुरु हुनुअघि नै विश्वविद्यालयले ‘ज्युइस भ्वाइस फर पिस’ समूहमाथि प्रतिबन्ध लगायो र प्रहरीलाई छापा मार्न आदेश दियो, जसबाट सयभन्दा बढी विद्यार्थी पक्राउ, अनुशासनात्मक कारबाही र निष्कासनमा परे । सहानुभूति राख्ने प्राध्यापकलाई पनि निसाना बनाइयो, जसमा प्राध्यापक क्याथरिन फ्रांकीलाई सार्वजनिक रूपमा एलिस स्टेफानिकले निन्दा गर्दै अवकाश लिन बाध्य बनाइन् ।

अमेरिकामा श्वेत राष्ट्रवादी प्रशासनले ‘यहुदीद्वेष’विरुद्धको लडाइँका नाममा नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको छ
 

उनले कोलम्बियालाई दबाबमा परेर अभिव्यक्ति स्वतन्त्रता दमन गरेको आरोप लगाएकी थिइन् । उनको बाध्यकारी अवकाशपछि पनि विश्वविद्यालयले संघीय अनुदान गुमाउनुप¥यो । परिस्थिति थप गम्भीर भएको छ । अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले कोलम्बिया विश्वविद्यालयको एक प्रमुख वार्ताकार महमुद खलिललाई पक्राउ गरेको छ, जो प्यालेस्टिनी मूलका अमेरिकी ग्रिन कार्डधारी नागरिक हुन् र उनले अमेरिकी नागरिकसँग विवाह गरेका छन् । उनकी श्रीमती आठ महिनाकी गर्भवती छिन् । उनकी श्रीमतीलाई थाहै नदिई उनलाई एक हजार माइलभन्दा टाढा रहेको लुइजियानामा रहेको एक कुख्यात डिटेन्सन सेन्टर (कारागार शिविरमा) मा पठाइएको छ । विभागले ‘उनले हमाससँग सम्बद्ध गतिविधि सञ्चालन गरेका थिए’ भन्ने आरोप लगाएको छ ।

अभिव्यक्ति स्वतन्त्रतालाई पुनस्र्थापित गर्नुको सट्टा ट्रम्प प्रशासनले अमेरिकी संविधानको पहिलो संशोधनलाई नै नामेट गर्दै छ । प्यालेस्टाइनका मामिलामा भन्ने हो भने अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको कुनै अस्तित्व छैन । निश्चय नै यो अन्यायसँग विशेष रूपमा एक व्यक्ति चिढिनेछन् । उनले गत साता गर्वसाथ ‘हामीले आपसी असहमतिका बाबजुद मानिसको रक्षा गर्ने कुरा सोधिए यदि कसैले रक्षा गर्दैन भने म तपाईंलाई युरोप वा अमेरिकाको नेतृत्व गर्न उपयुक्त ठान्दिनँ’ भनेका थिए । ती व्यक्तित्व थिए, उपराष्ट्रपति जेडी भान्स । वास्तवमा अमेरिकी दक्षिणपन्थले कहिल्यै वास्तवमा अभिव्यक्ति स्वतन्त्रतामा चासो नै दिएको छैन । यो केवल एक चाल थियो, जुन वञ्चित अल्पसंख्यकको विरोधलाई कलंकित गर्नका लागि प्रयोग गरिएको थियो । ट्रम्प प्रशासनले मेकार्थीवादपछिको सबैभन्दा ठुलो अमेरिकी आक्रमणको विस्तार गरेको छ, अर्थात् इजरायलको नरसंहारको विरोध गर्नेलाई निकाला गर्ने, प्रताडित गर्ने र कोलम्बिया विश्वविद्यालयजस्ता संस्थालाई तारो बनाएको छ । 

तर, केवल कट्टरपन्थी दक्षिणपन्थी पक्षले मात्र इजरायली नरसंहारको विरोध गर्नेमाथि आक्रमण गरेका छैनन् । धेरै ‘उदारवादी’ र ‘मध्यपन्थी’ पनि यसमा सामेल छन्, जसले २१औँ शताब्दीको सबैभन्दा नृशंस अपराधको विरोध गर्नेलाई घृणित, खतरनाक चरमपन्थीका रूपमा चित्रित गरे र यसमा यहुदी अमेरिकीसमेत पर्छन् । यसले स्वभावतः तानाशाही दमनलाई वैधता प्रदान गर्न मद्दत ग¥यो र यो अहिले चलिरहेको छ । सिमोन जिमरम्यान यहुदी अमेरिकन अभियान समूह ‘इफनटनाउ’का सह–संस्थापकले हामी अहिले ‘प्यालेस्टिनी स्वतन्त्रताको पक्षमा आवाज उठाउनेलाई यहुदीद्वेषीका रूपमा कलंकित गर्ने कामको भयावह नतिजा देख्दै छौँ’ भनेका छन् । अमेरिकामा श्वेत राष्ट्रवादी प्रशासनले ‘यहुदीद्वेषविरुद्धको लडाइँका नाममा नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामा युद्ध छेडिरहेको छ । यो स्पष्ट आक्रमणबाट हामी सबैको लोकतन्त्र जोखिममा छ,’ उनी थप्छन् ।

यो दमन प्यालेस्टाइनसँग ऐक्यबद्धता प्रदर्शन गर्नेको आक्रमणमा मात्र रोकिएला भन्ने विश्वास गर्नु गम्भीर भुल हुनेछ । वास्तवमा यो दमनले एक नजिर स्थापित गर्नेछ । अहिले अमेरिकी मिडिया ट्रम्पका मानहानि मुद्दा, झुटा जाँचको धम्की र जेफ बेजोसजस्ता धनाढ्य ट्रम्पसामु नतमस्तक हुँदै छन् । वास्तवमा अभिव्यक्ति स्वतन्त्रतामाथि ती व्यक्तिबाट आक्रमण भइरहेको छ, जसले आफूलाई यसको सबैभन्दा ठुलो समर्थक ठान्छन् ।
(जोन्स द गार्डियनका स्तम्भकार हुन्) द गार्डियनबाट