
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डामा चलिरहेको चारदेशीय टी–२० आई कपमा सोमबार हङकङसँग दुई रनको झिनो अन्तरले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको हङकङले २० ओभरमा सात विकेट गुमाएर सय रनको योगफल बनाएको थियो । नेपालले हङकङलाई हराउन प्रतिओभर पाँच रन पाएको थियो । तर, नेपालले २० ओभरमा सात विकेट गुमाएर ९८ रन मात्र बनायो । अन्तर्राष्ट्रिय टी–२० आईमा नेपालको यो १९औँ कम योगफल हो ।
यसअघि आइतबार नेपालले लगातार नौ हारको खराब रेकर्ड तोडेको थियो । नेपालले आयोजक युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो । डबल राउन्ड रोबिन लिगको पहिलो चरण खेल समाप्त भएको छ । पहिलो चरणमा नेपालले तीन खेलमा दुई हार र एक जित निकालेको छ । शीर्ष स्थानमा रही फाइनल खेल्न नेपालले दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । अब बुधबारदेखि नेपाल, युगान्डा, हङकङ र नामिबियाबिच पुनः खेल हुनेछ ।
नेपालले दोस्रो चरणको पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । युगान्डाविरुद्ध बिहीबार र शुक्रबार हङकङसँग नेपालले प्रतिस्पर्धा गर्नेछ । सिरिजमा हङकङको वरीयता सहभागीमध्ये तल थियो । नेपालले आफूभन्दा आइसिसी वरीयतामा तल रहेको हङकङविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्न नसक्दा नै हारको सामना गर्नुपरेको हो ।
अन्तिम ओभरमा १० रन आवश्यक
अन्तिम दुई ओभरमा नेपाललाई २० रनको आवश्यकता थियो । लगातार दोस्रो जित निकाल्न नेपाललाई प्रतिओभर १० रन चाहिएको थियो । १८औँ ओभरमा नेपालले रनरेट अनुसार १० रन जोडेको थियो । त्यसपछि अन्तिम ६ बलमा १० रन चाहिएको थियो । क्रिजमा रोमा थापा र ईश्वरी विष्ट थिए । हङकङबाट सिमर चाङले बलिङ गरेकी थिइन् । सुरुवाती चार बलमा नेपालले चार रन जोडेको थियो ।
रोमाले इनिङ्सको १९.४ ओभरमा एक रन लिँदै ईश्वरीलाई स्ट्राइक दिइन् । ईश्वरीले इनिङ्सकै अन्तिम बलमा एक रन मात्र लिँदा नेपाल हङकङसँग झिनो दुई रनले पराजित भयो । इनिङ्सको एक समयमा नेपालले १५ ओभरमा ७३–४ को स्कोर गरेको थियो ।
तीन खेलाडी रन आउट
नेपालले हङकङविरुद्ध खराब रनिङ विट विन दी विकेटको प्रदर्शन ग¥यो । १६ देखि १७ ओभरभित्र नेपालले तीन मुख्य खेलाडीलाई रन आउटका रूपमा गुमाएको थियो । विन्दु रावल, कविता जोशी तथा पूर्वकप्तान रुबिना क्षेत्री रनआउटको सिकार भए । यी तीनजना खेलाडी रन आउट हुँदा अर्कोतर्फ क्रिजमा कप्तान इन्दु वर्मा थिइन् । नेपालले ७५ रनको योगफलमा यी तीन विकेट गुमाएको हो । कविता र रुबिनाले एक बल पनि सामना गर्न पाएनन् । रन आउट भएका तीनजना ब्याट्सम्यानले कप्तान बर्मासँग क्रिजमा राम्रो तालमेल मिलाउन नसक्दा पेभेलियन फर्केएका थिए ।
नेपालको कमजोर ब्याटिङ
नेपालको ब्याटिङमा कप्तान वर्माले सर्वाधिक ३२ रनको योगदान दिइन् । उनले ३३ बलमा दुई चौका प्रहार गरेकी थिइन् । यसैगरी, यू–१९ टोलीकी कप्तान पूजा महतोले २८ बल सामना गरी १९ रन बनाउन दुई चौका हिर्काइन् । विन्दु रावलले १७ बलमा १४ रन जोडिन् । नटआउट रहेकी रोमाले १२ बलमा १३ रनको योगदान दिइन् । युगान्डाविरुद्ध डेब्यु गरेकी सना प्रवीनले आफ्नो दोस्रो टी–२० आईमा २६ बलमा १० रन बनाइन् । ओपनर सम्झना कुमारी एक रनमा आउट भइन् ।
नेपालले लक्ष्य पछ्याएको इनिङ्समा ४.९० रनरेटमा ब्याटिङ गरेको थियो । यसअघि हङकङकी ओपनर नताशा माइल्सले सर्वाधिक ३५ रन बनाएकी थिइन् । मारिको हिलले २१ रन र चाङ यिङले १२ रन बटुलेका थिए । नेपालको बलिङमा ईश्वरी र वर्माले समान दुई विकेट लिएका थिए । हङकङकी मारिको हिलले दुई विकेट लिइन् । सी मे वाई र चाङले समान एक विकेट हात पारे ।