मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Wednesday, 12 March, 2025
मुख्य समाचार प्रिन्ट संस्करण

केआइआइटीमा प्रकृति लम्सालको शंकास्पद मृत्यु : सांसदले सरकारको कूटनीतिक क्षमतामाथि उठाए प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o७:१७:oo

केआइआइटीमा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि दुर्व्यवहार प्रकरण 

सांसदहरूले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि गरिएको दुर्व्यवहारको निष्पक्ष छानबिनको माग गरेका छन् । नेपाली विद्यार्थीमाथिको अमानवीय अत्याचार र विश्वविद्यालयका प्रशासकबाट नेपालप्रति घृणायुक्त अभिव्यक्ति दिएको भए पनि सरकारको कूटनीतिक पहल कमजोर देखिएको सांसदहरूको भनाइ छ । 

मंगलबार प्रतिनिधिसभामा बैठकमा बोल्दै एमालेका सांसद छविलाल विश्वकर्माले शंकास्पद मृत्यु घटनाको तथ्यपरक छानबिन गर्न माग गरे । ‘विद्यार्थी अझै पनि दबाबमा छन् । सरकारको ध्यान जाओस्,’ उनले भने । एमालेकै ठाकुर गैरेले विश्वविद्यालयका प्रशासकद्वारा नेपालीमाथि गरिएको व्यवहार, बोलिएका भाषा र व्यक्त शब्दले लज्जाबोध भएको बताए । त्यस्तै, कांग्रेसका रामहरि खतिवडाले शव नेपाल ल्याउन आवश्यक सहयोग गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराए । 

माओवादी सांसद माधव सापकोटाले सरकारको कूटनीतिक अक्षमताका कारण अहिले पनि नेपाली विद्यार्थीले अपमानजनक व्यवहारको सामना गरिरहनुपरेको बताए । ‘पीडित छात्राको परिवारलाई न्याय दिन सरकारले यथाशीघ्र उच्चस्तरीय राजनीतिक संवाद थालनी होस्,’ उनले भने, ‘छानबिन गरेर घटनाको सत्य–तथ्य सार्वजनिक गरियोस् ।’ माओवादीकै ज्ञानु बस्नेत सुवेदीले घटनाबारे परराष्ट्रमन्त्रीले फेसबुकमा लेखेर नहुने भन्दै सदनमा आएर जानकारी दिन माग गरिन् । रास्वपाका मनीष झाले घटनाबाट नेपालको कूटनीतिक रणनीतिको कमजोरी उजागर भएको बताए । रास्वपाकै स्वर्णिम वाग्लेले निष्पक्ष छानबिनका लागि भारत सरकारमार्फत पहल गर्नुपर्ने बताए । ‘विद्यार्थीको भौतिक सुरक्षा र पढाइको निरन्तरता हुनुपर्छ । न्याय र क्षतिपूर्तिको कुरा छन् । दुई–चार विज्ञप्तिले पुग्दैन । हरेक दिन अपडेट चाहिन्छ । गरिब, भ्रष्ट र अक्षम हुँदा धेरैले हेप्दा रहेछन् । यो पनि हेर्नुपर्छ,’ उनले भने । 

राप्रपाका ध्रुवबहादुर प्रधानले एकातिर नेपालीले प्राण आहुति गरेर छिमेकको सुरक्षा गरिरहेका वेला नेपाली चेलीले प्राण त्याग्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए । एकीकृत समाजवादीका शेरबहादुर कुँवरले नेपाली विद्यार्थीमाथि अमानवीयता र अत्याचार अझै नरोकिएको बताए ।

ओडिसा घटनामा राष्ट्रिय सभाको रुलिङ– यथाशीघ्र कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण
मंगलबारको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही, विद्यार्थीको सुरक्षा र पीडितलाई न्यायका लागि कूटनीतिक पहल गर्न माग गरेका थिए । त्यसपछि अध्यक्ष नारायण दाहालले रुलिङ गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘भारतको ओडिसा राज्यस्थित केआइआइटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष दाहालले रुलिङमा भनेका छन्, ‘यस विषयमा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रूपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’ अध्यक्ष दाहालले कलेजमा अध्ययनरत नेपाली छात्र–छात्राले सुरक्षित वातावरणमा निर्भीकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

ओडिसामा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केआइआइटी विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्यु र न्यायको आवाज उठाउने विद्यार्थीमाथि भएको अत्याचारको न्यायपूर्ण र वैधानिक समाधान गर्न आग्रह गरेको छ । घटनाको समाधान नभए भविष्यमा ओडिसाका विश्वविद्यालय तथा शिक्षण संस्थानमा अध्ययनका लागि आवश्यक वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने मन्त्रालयको चेतावनी छ । 

‘सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विद्यार्थीको विश्वव्यापी मान्यताको विपरीत विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय छ,’ मंगलबार मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय÷शिक्षण संस्थानमा अध्ययनका लागि एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीका लागि पनि अनुरोध छ ।’