
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ।
आइतबार बिहान गृहमन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो।
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य तथा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्यसचिव छन्। साथै समितिमा एकजना विस्फोटक पदार्थ विज्ञसमेत हुनेछन्।
समितिलाई आइतबारदेखि नै बेलुन विस्फोट घटना के–कसरी भयो ? त्यसको विस्तृत छानबिन र आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा पूर्वसतर्कता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिएको गृह मन्त्रालयले जनाएको छ।
शनिबार भएको सो घटनामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन्।