मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २ शुक्रबार
  • Wednesday, 12 March, 2025
रासस दमाैली
२o८१ फाल्गुण २ शुक्रबार १४:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घलडाँडामा सामूहिक गहुँखेती

Read Time : > 1 मिनेट
रासस, दमाैली
नयाँ पत्रिका
२o८१ फाल्गुण २ शुक्रबार १४:२१:oo

तनहुँको आँबुखैरेनी गाउँपालिका– ६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बिउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ ।

यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् ।  स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिइन् । घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको उनले बताइन् । ‘हाल २० रोपनी जग्गामा सामूहिक खेती गरिएको छ,’ गुरुङले भनिन्, ‘विगतमा गहुँखेतीका लागि राम्रो बिउ पाउन पनि समस्या हुन्थ्यो । कतैबाट सहयोग नपाएपछि कृषकहरू यसबाट विस्थापित भए, तर पछिल्लो समय गाउँपालिकाले प्रोत्साहित गरेको छ । बिउ र प्रविधिमा सहयोग गरेपछि हामी पुनः यसतर्फ आकर्षित भएका छौँ ।’

स्थानीय गंगा गुरुङले पनि गाउँपालिकाको प्रेरणाबाट आफूहरू गहुँखेतीमा लागेको बताइन् । उनले प्रविधि र बिउ सहयोग भएपछि सामूहिक गहुँखेती सुरु गरिएको बताइन् । स्थानीय धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, डम्बर गुरुङ, मीना गुरुङ, सुष्मा गुरुङलगायतले सामूहिक रूपमा गहुँखेती गरेका हुन् ।

गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले यहाँका कृषकले उत्साहका साथ गहुँखेती गर्न थालेको जानकारी दिए । ‘यो ठाउँ गहुँखेतीका लागि उपयुक्त छ, तर विगतमा बिउ र प्रविधिमा पछि पर्दा धेरैले खेती गर्न छाडेका थिए । हाल गाउँपालिकाले बिउ र प्रविधिमा जोडेपछि कृषकले सामूहिक खेती गर्न थालेका छन्,’ उनले भने । यसलाई निरन्तरता दिन पालिकाले निरन्तर सहयोग गर्ने केसीले बताए ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले यहाँ उत्पादित गहुँ बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । उनले भने, ‘गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादित कृषि सामग्री बिक्री–वितरणका लागि पालिकाले हाटबजार नै चलाएको छ । हाटबजारबाट स्थानीय उत्पादन सहज रूपमा बिक्री–वितरण भइरहेको छ ।’

गाउँको बाँझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तारमा आफूहरूले योजना बनाइरहेको अध्यक्ष चुमानले जानकारी दिए ।