
सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा रौनियारको जोडीमाथि राज्यबाट भएको अत्याचारको घटनाका दोषीमाथि छानबिन र कारबाही गर्न राष्ट्रिय दलित आयोगले प्रहरीलाई निर्देशन दिएको छ। आयोगले बिहीबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत उच्च अधिकारीलाई आयोगमा बोलाएर विभिन्न निर्देशन दिएको हो।
आयोगले उनीहरूको जोडी छुटाउन खोज्ने, पक्राउ गर्ने र यातना दिनेविरुद्ध छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ।
आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा सदस्यलगायत टोलीले सो घटनाको विषयमा प्रहरीसँग सोधपुछ गरेको हो।
अयोगद्वारा जारी विज्ञप्तिमा उनीहरूको सुरक्षामा ध्यान दिन पनि निर्देशन दिइएको उल्लेख छ।
घटनाको विषयमा दलित आयोगले चासो नदिएको भन्दै दलित अधिकारकर्मीहरूले गत आइतबार ज्ञापनपत्र बुझाएका थिए। घटना बाहिरिएको १० दिनपछि बल्ल आयोगले यो विषयमा चासो लिएको हो। घटनामा गृहमन्त्रीको भूमिकाको विषयमा आयोगले अझै चासो दिएको छैन। साथै यति गम्भीर घटनामा आफैँ छानबिनमा पनि आयोगले गम्भीरता नदेखाएको अधिकारकर्मीहरू बताउँछन्।
यसअघि गृह मन्त्रालय र प्रहरीले घटनाको विषयमा प्रस्टीकरण दिइसकेको भन्दै आयोग मौन बसेको थियो। आयोगद्वारा जारी विज्ञप्तिअनुसार पीडित सत्येन्द्रले गत २४ पुसमै आफूलाई प्रहरीले यातना दिएको र श्रीमतीलाई बेपत्ता बनाएको भन्दै आयोगमा निवेदन दिएका थिए।