
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले २ पुसमा विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुिक्त गरेका डा. बलबहादुर पराजुलीले बुधबार राजीनामा दिएका छन् । उनीसँगै सञ्चालक नियुक्त भएका लक्ष्मण केसी योग्यता विवादका कारण अदालतको अन्तरिम आदेशबाट २६ पुसदेखि पदमुक्त छन् ।
प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको चारवर्षे कार्यकाल सकिएपछि प्राधिकरणको अध्यक्षसमेत रहेका ऊर्जामन्त्रीले पराजुली र केसीलाई सञ्चालक नियुक्त गरेका थिए । केसीलाई ऊर्जा क्षेत्रको प्रतिनिधि भन्दै सञ्चालक समितिमा नियुक्ति गरिएको थियो । तर, उनी ऊर्जा क्षेत्रको नभएको भन्दै १८ पुसमा उच्च अदालत, पाटनमा रिट परेको थियो ।
सो रिटउपर २६ पुसमा उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र डिल्लीरत्न श्रेष्ठको इजलासले सुनुवाइ गर्दै केसीलाई सञ्चालक समिति नियुक्ति गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो । त्यसयता केसी पदमुक्त भएका छन् भने मुद्दाको अन्तिम किनारा लाग्न पनि बाँकी छ ।
डा. पराजुलीलाई भने विद्युत् उपभोक्तामध्येबाट सञ्चालक समिति सदस्य नियुक्ति गरिएको थियो । स्रोतका अनुसार उनको नियुक्तिविरुद्ध पनि उच्च अदालत, पाटनमा मुद्दा विचाराधीन छ । डा. पराजुली सो मुद्दाको तारिख धाइरहेको स्रोतको भनाइ छ । मुद्दा खेपिरहेको विषय बाहिरिएको र कसैले रिट दायर गरे अदालतबाट फालिने जोखिम बढेको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् । ‘उहाँ (पराजुली)ले तारेख धाइरहेको विषय बाहिरिएको छ । त्यसैले यस्तो वेला पदमा बस्नु उचित हुन्न भनेर राजीनामा दिनुभएको बुझिएको छ,’ स्रोतले भन्यो ।
नेपाल विद्युत् प्राधिकरण ऐनमा दुईजना सञ्चालक समिति सदस्य सरकारले नियुक्ति गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार पराजुली र केसीलाई ऊर्जामन्त्री खड्काले नियुक्ति गरेका थिए । तर, केसीको मुद्दामा अन्तरिम आदेश दिएको अदालतले सरकार भनेर मन्त्रिपरिषद्लाई बुझ्नुपर्ने व्याख्या गरेको छ । जसकारण, प्राधिकरणको सञ्चालक पनि मन्त्रिपरिषद्बाट नै नियुक्त गर्नुपर्ने देखिएको छ । अदालतको यो व्याख्याका कारण पनि ऊर्जा मन्त्रालयबाटै नियुक्त भएका सञ्चालकहरू अन्योलमा थिए । डा. पराजुलीले भने मन्त्रिपरिषद्बाट नियुक्ति नभएको र अदालतमा पहिलै मुद्दा रहेको दुईवटा कारणले राजीनामा दिन बाध्य भएको स्रोतको भनाइ छ ।
संखुवासभा मकालु गाउँपालिका– ३ का डा. पराजुलीको जलस्रोत क्षेत्रमा भने विज्ञता छ । उनले हाइड्रोपावरमै विद्यावारिधि हासिल छन् । उनले जलविद्युत् उत्पादन क्षेत्रमा परामर्शदाताका रूपमा लामो समयदेखि काम गर्दै आएका छन् । उनले नेपालकै पहिलो टनेल तथा रिभर डाइभर्सन परियोजना भेरी बबई डाइभर्सनको मुख्य परामर्शदाताका रूपमा समेत काम गरेका थिए । डा. पराजुलीसँग एसियाली विकास बैंकमा समेत परामर्शदाताका रूपमा काम गरेको अनुभव छ ।