![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chhalfal-samajbadi-kranti2025-02-09-01-20-48.jpeg)
अर्थ राजनीतिका विश्लेषक तथा लेखक डिपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’माथि राजधानीमा शनिबार परिचर्चा गर्दै वक्ताहरूले नेपाली विशेषतासहितको समाजवादको आधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
शंखमूलको बर्गर क्लबमा आयोजित पुस्तक परिचर्चा कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं राजनीतिक विश्लेषक लेखनाथ न्यौपानेले आर्थिक आधारमा मात्र समाजवाद निर्माण गर्न नसकिने बताए।
समाजवादमा कस्ता मानिस हुने र कस्ता बनाइने भन्ने प्रश्न महत्त्वपूर्ण भएको न्यौपानेको भनाइ थियो। उनले वर्तमान संसदीय प्रतिस्पर्धाबाट समाजवादमा पुग्न नसकिने भन्दै समाजवादको पहिलो चरणमै पुग्न भिडन्त अनिवार्य रहेको उल्लेख गरे।
प्राडा सूर्य थापाले समाजवादका दुई चरण थेसिसका रूपमा अघि बढ्नुपर्ने धारणा राखे। माओवादी केन्द्रकै केन्द्रीय सदस्य रामदीप आचार्यले समाजवादको एकल मार्ग नहुने भन्दै दुई चरण वस्तुगत हो कि होइन र अरू बाटोबाट पनि समाजवाद सम्भव छ कि छैन भन्नेबारे व्यापक बहस हुनुपर्ने बताए।
त्यस्तै, अर्का केन्द्रीय सदस्य अनिल शर्माले समाजवादकेन्द्रित कार्यक्रममा जोड दिए। पत्रकार दुर्गा खनालले नयाँ पुस्तालाई समाजवादका पर्याप्त खुराक दिन नसक्दा समाजवादमा पुग्न नसकिने उल्लेख गरे।
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले शिक्षा क्षेत्रबाट समाजवादको अभ्यास सुरु गर्नुपर्ने विचार व्यक्त गरे भने पत्रकार नरेश रेग्मीले पुस्तकसँगै सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोग गरी समाजवादी ज्ञानलाई प्रचार गर्नुपर्नेमा जोड दिए।
युवा नेता विजय गौतमले पुँजीवादमा संकट देखापरे पनि पुँजीवादले सामाजवादको नीति चोरेर आफूलाई हाइब्रिड बनाएको र आफ्नो आयु लम्बाइरहेको विचार व्यक्त गरे।
मार्क्सवादी अध्ययन प्रतिष्ठानका उपाध्यक्ष श्रीराम खाइजूले समाजवादबारे उपलब्ध सामग्री बुद्धिविलासको रूपमा मात्र रहेको र त्यसले आमजनमत आकर्षित गर्न नसकेको तर्क गरेका थिए। उनले समाजवादमा पुग्ने चरण सजिलो नभएको र त्यसका लागि बौद्धिक एकता प्रदर्शन गरी मार्गनिर्देश गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पुस्तकका लेखक डिपी ढकालले समाजवाद आफैँ आउँछ वा सचेत प्रयत्न आवश्यक छ भन्नेबारे समाजवादका यात्रीहरूमै अलमल र अस्पष्टता रहेको उल्लेख गर्दै पुस्तकमा समाजवादमा कसरी पुग्ने भन्ने बहस उठान गरिएको प्रस्ट पारे।
समाजवादका लागि पहिलो चरणमा ‘समाजवादोन्मुख राज्य संरक्षित औद्योगिक पुँजीवाद’को बाटोमा अघि बढ्नुपर्ने र दोस्रो चरणमा ‘समाजवादमा संक्रमणको महाअभियान आवश्यक हुने’ उनको तर्क छ। ‘समाजवादी क्रान्तिका दुई चरण’ पुस्तक ननस्टप मिडियाले प्रकाशन गरेको हो।