बेलायतका अधिराजकुमार एन्ड्रयु र अधिराजकुमारीले पोखरामा गोर्खा भर्ती परेडको निरीक्षण गरेका छन् । वार्षिक प्रमाणीकरण परेडमार्फत बेलायती सेनामा शुक्रबार २७४ जना नेपाली युवा औपचारिक रूपमा सामेल भएका छन् ।
प्रमाणीकरण परेडमा अधिराजकुमार र राजकुमारीले छनोट प्रक्रियाको अन्त्यमा पुगेका नेपाली युवाका लागि रहेको महत्त्वपूर्ण क्षणको अवलोकन गरे । शुक्रबारबाटै २७४ नेपालीहरूको सैन्य पेसागत जीवन सुरु भएको छ । औपचारिक कार्यक्रमपछि अधिराजकुमार र राजकुमारीले नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरे ।
प्रतिस्पर्धात्मक भर्ती प्रक्रियापछि २७४ जना प्रशिक्षार्थी राइफलम्यान बेलायती सेनामा भर्ती भएका छन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाहरूका परिवारका सदस्यहरू उपस्थित थिए ।
‘अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजारभन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खामध्ये एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठुलो चुनौतीहरूमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ,’ अधिराजकुमारले भने । छनाेट भएका २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्रमा अब नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन् ।
समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्यान्ड डिएसओ, गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर, ब्रिटिस गोर्खा नेपालका कमान्डर कर्णेल ड्यान रेक्स एमभिओ र बिजिएनका डेपुटी कमान्डर लेफ्टिनेन्ट कर्णेल राजेशकुमार गुरुङ सहभागी थिए । परेडमा गोर्खा र ब्रिटिस कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुईवटा दीर्घसेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको बेलायती राजदूतावासले जनाएको छ ।
अधिराजकुमार र राजकुमारीले संयुक्त अधिराज्यले विभिन्न परोपकारी संस्थाहरूमार्फत बेलायती सेनामा काम गरेकाहरूलाई नेपालमा कसरी साथसहयोग उपलब्ध गराइएको छ भन्ने कुराको प्रत्यक्ष अवलोकन गरेका थिए । उनीहरूले जिडब्लुटीको आवासीय गृहमा केही समय बिताएका थिए जहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक वा उनीहरूका विधवाहरूलाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ ।
आवासीय गृहको भ्रमणका क्रममा अधिराजकुमार र राजकुमारीले १०४ वर्षीया आशाकुमारी तामाङलाई भेटेका थिए । उनका स्वर्गीय श्रीमान दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आबद्ध भएर सहभागी भएका थिए ।