मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २५ शुक्रबार
  • Saturday, 05 April, 2025
जोसेफ एस नाई जुनियर
२o८१ माघ २५ शुक्रबार १o:३२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के विश्वव्यापीकरणको भविष्य छ ?

Read Time : > 2 मिनेट
जोसेफ एस नाई जुनियर
नयाँ पत्रिका
२o८१ माघ २५ शुक्रबार १o:३२:oo

हामी विश्वव्यापीकरणको लाभदायक पाटोलाई सीमित गर्ने प्रक्रियामा छौँ भने व्ययभार बढाउने विश्वव्यापीकरणको सामना गर्न असफल भएका छौँ

जनवरीमा लस एन्जलसमा डढेलो फैलिँदा कुख्यात षड्यन्त्रका सिद्धान्तकार एलेक्स जोन्सले यसलाई अमेरिकालाई औद्योगीकरणविहीन बनाउने ‘वैश्विक योजनाको हिस्सा’ भन्ने दाबी गरेका थिए । उनको दाबी निराधार भए पनि डढेलो विश्वव्यापीकरणसँग अन्य ढंगले जोडिएको छ । गत वर्ष पृथ्वीको सबैभन्दा तातो वर्ष रह्यो अर्थात् सन् २०२४ सम्भवतः एक लाख २५ हजार वर्षयताकै सबैभन्दा तातो वर्ष थियो । विश्व तापमान पेरिस सम्झौताले तोकेको १.५ डिग्री सेल्सियसको सीमा पार गरेको छ, जसको प्रमुख कारण वैज्ञानिकले मानव–प्रेरित जलवायु परिवर्तनलाई मानेका छन् ।

विश्वव्यापीकरण भनेको महादेशीय दूरीमा हुने अन्तरनिर्भरता हो । युरोपभित्रको व्यापार क्षेत्रीय भए पनि अमेरिका वा चीनसँगको व्यापार विश्वव्यापीकरणको उदाहरण हो । चीनमाथि भन्सार शुल्क बढाएर राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी आर्थिक अन्तरनिर्भरता घटाउन खोजेका छन्, जसलाई उनले अमेरिकाको बेरोजगारीको कारण मानेका छन् । अर्थशास्त्री यसबारे विभाजित छन् । केही अध्ययनले विदेशी प्रतिस्पर्धाका कारण रोजगारी गुमेको देखाए पनि धेरैले यसको प्रमुख कारण स्वचालन (अटोमेसन) भएको तर्क गरेका छन् । स्वचालनले उत्पादकत्व बढाए पनि आर्थिक पीडा पनि निम्त्याउँछ, तर लोकप्रियतावादी नेताले मेसिनलाई भन्दा विदेशीलाई दोष दिन सहज ठान्छन् ।

आप्रवासी दीर्घकालका लागि फाइदाजनक भए पनि तिनलाई अल्पकालीन अस्थिरताका लागि दोष लगाइन्छ । अफ्रिकाबाट मानव बसाइँसराइ पहिलो विश्वव्यापीकरण थियो, जसले अमेरिकाजस्ता राष्ट्रको निर्माण गर्‍यो । तर, इतिहासभरि नै पहिले आएका आप्रवासीले आगन्तुकलाई आर्थिक र सांस्कृतिक बोझका रूपमा विरोध गर्दै आएका छन् र यो क्रम अद्यापि छ । आप्रवासन बढ्दा वा यसबारेको मिडिया प्रस्तुति तीव्र रूपमा आए राजनीतिक प्रतिक्रिया स्वाभाविक हुन्छ । यसैका कारण हालका वर्षमा लोकप्रियतावादी नेताका लागि आप्रवासन प्रमुख मुद्दा बनेको छ । ट्रम्पको सन् ०१६ र ०२४ को निर्वाचनमा यसले ठुलो भूमिका खेल्यो । सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले थप ठुला परिवर्तन ल्याए पनि ती आप्रवासनका तुलनामा कम जनोत्तेजक लक्ष्य बन्न पुग्छन् ।

धेरैले लोकप्रियतावादी प्रतिक्रियाका लागि विश्वव्यापीकरणको तीव्र विस्तारलाई दोष दिन्छन् र लोकप्रियतावादीले व्यापार र आप्रवासनलाई राष्ट्रिय समस्याको कारण ठान्छन् । शीतयुद्धपछिको राजनीतिक परिवर्तन र प्रविधिले सीमापार व्यापार एवं आप्रवासन सहज बनाउँदै गयो र यसको गति पनि तीव्र हुँदै गयो । तर, अहिले लोकप्रियतावादको वृद्धिसँगै शुल्क र सिमानामा कडाइले यी प्रवाहलाई रोक्न सक्छ । के विश्वव्यापीकरण उल्टिन सक्छ ? इतिहासले भन्छ, सक्छ । १९औँ शताब्दीमा व्यापार र आप्रवासन तीव्र बढे पनि प्रथम विश्वयुद्धले यसलाई रोकिदियो र सन् १९१४ को स्तरसम्मको व्यापारिक अवस्थामा फर्कन झन्डै सन् १९७० नजिक पुग्नुपर्‍यो । केही अमेरिकी राजनीतिज्ञले चीनसँग पूर्ण सम्बन्धविच्छेदको माग गरिरहेका छन् । तर, पाँच खर्ब डलरको व्यापार सम्बन्ध तोड्नु महँगो र असम्भवजस्तै छ । तर, असम्भव नै भने होइन । उदाहरणका लागि ताइबान युद्धले अमेरिकी–चीन व्यापार पूर्ण रूपमा रोक्न सक्छ । विश्वव्यापीकरणको भविष्य बुझ्न अर्थतन्त्रभन्दा बाहिर हेर्नुपर्छ, अर्थात् सैन्य, पारिस्थितिक, सामाजिक, स्वास्थ्यजस्ता अन्तरनिर्भरता पनि महŒवपूर्ण छन् । युद्ध विनाशकारी हुन्छ, तर कोभिड–१९ ले सबै अमेरिकी युद्धमा भन्दा बढी अमेरिकीको ज्यान लिएको सम्झिनु आवश्यक छ ।

यसैबिच वैज्ञानिकले जलवायु परिवर्तनले ठुलो आर्थिक भार निम्त्याउने भविष्यवाणी गरेका छन्, अर्थात् वैश्विक हिमनदी पग्लने र तटीय सहर शताब्दीको अन्त्यतिर डुब्नेछन् । निकट भविष्यमा पनि जलवायु परिवर्तनले आँधी र डढेलोको आवृत्ति एवं तीव्रतालाई बढाउँदै छ । विडम्बना के छ भने हामी विश्वव्यापीकरणको लाभदायक पाटोलाई सीमित गर्ने प्रक्रियामा छौँ भने व्ययभार बढाउने विश्वव्यापीकरणसँग जुध्न असफल भएका छौँ । उदाहरणका लागि दोस्रो ट्रम्प प्रशासनका पहिलो कदममध्येको एक पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनबाट अमेरिकाको बहिर्गमनलाई लिन सकिन्छ ।

त्यसो भए विश्वव्यापीकरणको भविष्य के छ त ? लामो दूरीका अन्तरनिर्भरता मानवको गतिशीलता र सञ्चार एवं यातायात प्रविधिसँग जडित हुन्छ । आखिर आर्थिक विश्वव्यापीकरण शताब्दीयौँ पुरानो हो, उदाहरणका लागि प्राचीन व्यापार मार्ग सिल्क रोड (रेशम मार्ग) लाई लिन सकिन्छ । स्मरण रहोस्, आज यसलाई चीनले आफ्नो विश्वव्यापी ‘बेल्ट एन्ड रोड’ पूर्वाधार–निवेश कार्यक्रमको नारा बनाएको छ । पन्ध्रौँ शताब्दीमा महासागरीय यातायातका नयाँ आविष्कारले अन्वेषणको युग ल्यायो, जसपछि युरोपेली उपनिवेशीकरणको युग आयो, जसले आजको राष्ट्रिय सिमाना तय गर्‍यो । जब औद्योगिकीकरणले कृषिप्रधान अर्थव्यवस्थालाई रूपान्तरण गर्‍यो, उन्नाइसौँ र बीसौँ शताब्दीमा स्टिमप्लेन र टेलिग्राफले यस प्रक्रियालाई थप तीव्र बनायो । अब सूचना क्रान्तिले हाम्रो सेवा–आधारित अर्थव्यवस्थालाई पनि रूपान्तरण गर्दै छ ।

इन्टरनेटको व्यापक प्रयोग यो शताब्दीको सुरुतिर भएको थियो र अब संसारभरिका अर्बौं मानिस आफ्नो गोजीमा कम्प्युटर बोकिरहेका छन् । जबकि ५० वर्षअघि एक कम्प्युटरले ठुलो भवन नै ओगट्थ्यो । जसो–जसो एआईले प्रगति गर्दै छ, वैश्विक सञ्चारको दायरा, गति र मात्रामा प्रचण्ड वृद्धि हुनेछ । विश्वयुद्धले आर्थिक विश्वव्यापीकरणलाई उल्ट्याएको छ । संरक्षणवादी नीतिले यसलाई शिथिल बनाउन सक्छ, र अन्तर्राष्ट्रिय संस्थाले अहिले भइरहेको धेरै परिवर्तनसँग कदम मिलाउन सकेका छैनन् । तर, जबसम्म हामीसँग प्रविधि छन्, विश्वव्यापीकरण जारी रहनेछ, तर यो केवल लाभदायी मात्रै नहुन सक्छ ।

(अमेरिकाका पूर्वसहायक विदेशमन्त्री नाई जुनियर हार्वर्ड केनेडी स्कुलका पूर्वडिन हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट