१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
जोसेफ एस नाई जुनियर
२o८१ भदौ २४ सोमबार १o:१७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सन् २०२५ को अमेरिकी विदेश नीति

अमेरिकी विदेश नीतिलाई चुनावको नतिजाले खासै प्रभाव पार्नेछैन, अर्थात् अहिलेको नीतिले निरन्तरता पाइरहनेछ

Read Time : > 2 मिनेट
जोसेफ एस नाई जुनियर
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १o:१७:oo

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा अमेरिकी विदेश नीतिमा अनिश्चितता बढ्दै गएको छ । पहिलो, कसले जित्ला ? सुरुवाती सर्वेक्षणले डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनविरूद्ध जित्ने देखाएको थियो, तर अहिले डेमोक््रयाटिक पार्टीले कमला ह्यारिसलाई अघि सारेसँगै ह्यारिसको थोरै अग्रता देखिन्छ । मतदाताको भावनामा तीव्र परिवर्तन हुने भएकाले ५ नोभेम्बरमा हुने चुनावी नतिजाको भविष्यवाणी गर्न गाह्रो देखिन्छ । 

दोस्रो, विदेशी नेताले अमेरिकी एजेन्डा र चुनावी नतिजामा पनि प्रभाव पार्न सक्छन् । जर्ज डब्लु बुसको सन् २००० को चुनावी अभियानको सामान्य विदेश नीति ११ सेप्टेम्बर २००१ को आतंककारी हमलापछि परिवर्तन भएको थियो । त्यसैगरी, भ्लादिमिर पुटिन वा सी जिनपिङजस्ता नेताको अप्रत्याशित कदमले पनि परिदृश्यलाई परिवर्तन गर्न सक्छ ।

चुनावी अभियानका अभिव्यक्ति र भाष्यले नीति संकेत प्रदान गर्छ । यदि ह्यारिसले जितिन् भने उनले बाइडेनको नीतिलाई केही समायोजनसाथ जारी राख्नेछिन् । उनले प्यालेस्टिनी अधिकारमा थोरबहुत बढोत्तरी र लोकतन्त्रको प्रवद्र्धनमा कम जोड दिनेछिन् । अमेरिकी अन्तर्राष्ट्रिय गठबन्धनलाई सुदृढ पार्ने र बहुपक्षीयतालाई प्रोत्साहन गर्नमा ध्यान केन्द्रित गर्नेछिन् । ट्रम्प भने अत्यधिक अप्रत्याशित छन् ।

उनका अभिव्यक्तिमा असत्यता धेरै हुने गर्छ, तसर्थ कुन–कुन भाष्य नीति बन्न सक्छन् भनेर बुझ्न गाह्रो हुन्छ । एकपक्षीयता र अन्तर्राष्ट्रिय गठबन्धनमा कटौती गर्ने बयानले उनको दृष्टिकोणको संकेत गर्छ, तर यिनमा विशिष्टताको कमी देखिन्छ । प्रायः पर्यवेक्षकले अन्तरदृष्टिका लागि सल्लाहकारलाई हेर्छन्, तसर्थ ह्यारिसका शीर्ष विदेश नीति सल्लाहकार फिलिप गोर्डन पूर्वडेमोक््रयाटिक सरकारबाट युरोपेली र मध्यपूर्वी मामिलामा अनुभव भएका एक व्यावहारिक मध्यपन्थी व्यक्तित्व हुन् ।

अमेरिकी विदेश नीतिलाई चुनावको नतिजाले खासै प्रभाव पार्नेछैन, अर्थात् अहिलेको नीतिले निरन्तरता पाइरहनेछ
 

यसविपरीत ट्रम्पसँग ह्यारिसका सल्लाहकारको स्पष्ट समकक्षको अभाव छ । उसो त उनका यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कहिलेकाहीँ उल्लेख गरिन्छ । तर, ट्रम्पले आफ्नो अघिल्लो कार्यकालमा परम्परागत रिपब्लिकनलाई नियुक्त गरेकामा खेद व्यक्त गरेका थिए, किनभने तिनले उनका नीतिलाई मत्थर बनाएका थिए र कार्य स्वतन्त्रतालाई सीमित गरेका थिए ।

विविध भिन्नताका बाबजुद यी दुई उम्मेदवारले केही समान नीति साझा गर्छन्, विशेषतः चीनका मामिलामा । चीनले व्यापार र बौद्धिक सम्पदामा अन्याय गरेको र जापान एवं फिलिपिन्सजस्ता सहयोगीलाई खतरामा पार्दै पूर्वी र दक्षिण चीन सागरमा खतरा उत्पन्न गरेकामा दुवै सहमत छन् । ताइवानमा चीनको अडान आक्रामक रहँदा ह्यारिसले ट्रम्पको जस्तै केही समायोजनसाथ चीनमा बाइडेनको नीतिलाई जारी राख्ने सम्भावना छ ।

अर्को समानता भनेको यी उम्मेदवारले नवउदारवादी आर्थिक नीतिलाई अस्वीकार गर्नु पनि हो । ट्रम्पको नेतृत्वमा अमेरिका व्यापारमा परम्परागत रेगनकालको रिपब्लिकन नीतिबाट टाढिएको छ, कर बढाएको छ र ट्रम्पको वृत्तमा प्रभावशाली रहने अमेरिकी व्यापार प्रतिनिधि रोबोट लाइटहाइजरद्वारा निर्देशित विश्व–व्यापार संगठनमा आफ्नो भूमिका घटाएको छ ।

ट्रम्पले ओबामाले सम्झौता गरेको ट्रान्स–प्यासिफिक साझेदारीलाई अस्वीकार गरेका थिए र बाइडेनले यो समझदारीलाई ब्युँताएका थिएनन् र चिनियाँ आयातमा ट्रम्पले लगाएको कर हटाएनन् । बाइडेनले चीनविरूद्ध नयाँ प्रविधिकेन्द्रित निर्यात नियन्त्रण गरे, जसलाई ‘सानो बगैँचाका लागि उच्च पर्खाल’ भनियो । ह्यारिसको क्यालिफोर्नियाका प्रविधि उद्योगसँग नजिकको सम्बन्ध छ । उनले पनि आयातको पर्खालको उचाइ घटाउने सम्भावना छैन । ट्रम्प एक कदम अघि सरेर बगैँचा नै विस्तार गर्ने ध्याउन्नमा छन् । ट्रम्प र ह्यारिस दुवैले रक्षा खर्च र रक्षा औद्योगिक आधारमा लगानी बढाएर अमेरिकी सैन्य र आर्थिक शक्ति बढाउने वाचा गरेका छन् । 

यी उम्मेदवारबिचको मुख्य भिन्नता युरोपबारे यिनको अडान हो । ट्रम्प र उनीसँग उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गरिरहेका सहकर्मी जेडी भान्सले युक्रेन र नाटोलाई समर्थन गर्ने मामिलामा थोरै चासो देखाएका छन् । ट्रम्पले वार्तामार्फत युक्रेन युद्धको छिट्टै अन्त्य गर्ने दाबी गरेका छन्, तर यसो गर्दा युक्रेन कमजोर हुने या नहुने अनिश्चित छ ।

मध्यपूर्व मामिलामा दुवै उम्मेदवार इजरायलको सुरक्षा र आत्मरक्षाको अधिकारलाई समर्थन गर्छन् । तथापि, ह्यारिस प्यालेस्टिनी आत्मनिर्णयको वकालत पनि गर्छिन् । दुवैले साउदी अरेबियालाई इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउन र इरानमाथि कडा अडान लिन प्रोत्साहित गर्नेछन् । 

सबैभन्दा उल्लेखनीय भिन्नता अमेरिकी सौम्य शक्तिमा छ । जबर्जस्ती वा आर्थिक प्रोत्साहनको सट्टा विश्वासमार्फत लक्ष्य प्राप्त गर्ने क्षमतामा भिन्नता छन् । ट्रम्पको ‘अमेरिका फस्र्ट’ दृष्टिकोणले अन्य देशलाई उनीहरूको चासो बेवास्ता गरिएको महसुस गर्न प्रेरित गर्‍यो र बहुपक्षीयतालाई अस्वीकार गर्‍यो विशेषतः पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनबाट फिर्ता हुनुलाई उदाहरणका रूपमा लिन सकिन्छ । बाइडेनले ट्रम्पका यी कदमलाई उल्टाएका थिए, तर ट्रम्पले सम्भवतः यी कदमलाई पुनः ब्युँताउनेछन् जब कि ह्यारिसले सम्भवतः अमेरिकी सहभागिता जारी राख्नेछिन् । ह्यारिसले पनि ट्रम्पको तुलनामा मानव अधिकार र लोकतन्त्रलाई बढी सक्रिय रूपमा प्रवद्र्धन गर्ने अपेक्षा छ । अमेरिकी विदेशनीतिलाई चुनावी नतिजाले खासै प्रभाव पार्नेछैन । नीतिमा महत्वपूर्ण निरन्तरता रहनेछ । तर, अन्तर्राष्ट्रिय गठबन्धन र बहुपक्षीयतामा उम्मेदवारको फरक दृष्टिकोणले भिन्नता भने ल्याउन सक्छ ।

(अमेरिकाका पूर्वसहायक विदेशमन्त्री नाई जुनियर हार्भर्ड केनेडी स्कुलका पूर्वडिन हुन्) प्रोजेक्ट सिन्डिकेटबाट