प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार कांग्रेसको वैचारिकीमा प्रश्न गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले रचनात्मक आलोचनासमेत सहन नसक्ने टिप्पणी गर्दै प्रचण्डले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चने सामाजिक सञ्जाल नियमन विधेयकबारे कांग्रेसको धारणा माग गरेका हुन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा एमालेजस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ । त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ । यस्तो प्रयास प्रधानमन्त्रीकै रूपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ?’
कांग्रेस यसअघि सामाजिक सञ्जाल नियमन विधेयकको विरोधमा रहेको स्मरण गराउँदै प्रचण्डले एमालेसँग सत्ताका लागि मात्रै सहकार्य भएको हो वा कांग्रेसको राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो भन्ने प्रश्न गरे।
उनले भने, ‘के हो यस (सामाजिक सञ्जाल विधेयक)मा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरू यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईंहरू सत्ताका लागि मात्रै सहकार्यमा हुनुहुन्छ कि राजनीतिक दृष्टिकोणमै परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईंहरूको वैचारिकी ?’
कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकरसमेत यसपटक कतै नसुनिएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पत्रकार र अरू व्यावसायिक संस्थाका चुनावमा पनि अदभूत एकताका साथ कांग्रेस र एमालेबिच गठबन्धन भयो। तपाईंहरूलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ? सकिएन बरु लगभग पहिलो पार्टीका रूपमा पुनरोदय भयो।’