प्रमुख सत्तारूढ दल कांग्रेसले आइतबार संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
संसद्को आगामी १८ माघका लागि आह्वान गरिएको अधिवेशनका लागि आवश्यक तयारी गर्न कांग्रेसले बैठक बोलाएको हो । बैठकमा विचाराधीन अत्यावश्यक विधेयक तत्काल पारित गर्नेलगायत विषयमा छलफल हुने प्रमुख सचेतक श्याम घिमिरे बताए । यसअघि ३ माघमा बसेको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित केही अत्यावश्यक विधेयक संसद्मा छिटो ल्याउन आग्रह गर्ने निर्णय गरेको थियो । यसैगरी बैठकले संसदीय समितिमा रहेका विधेयकलाई तत्काल पारित गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको थियो ।
गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउने निर्णय सिफारिस गरेको थियो ।