वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतको अवहेलना मुद्दा दायर भएको छ । मुद्दामा सर्वाेच्च अदाललते आइतबार पेसी तोकेको छ ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले आफु अनुकुल आदेश नआएपछि न्यायाधीशको आलोचना गरेको विषयमा शुक्रबार मुद्दा दायर भएको हो । ‘सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेपछि न्यायाधीशले गर्नुभएको आदेशमाथि उहाँले टिप्पणी गर्नुभएको रहेछ । त्यो अन्तरवार्ता टिभीमा प्रसरण भएको छ,’ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले भने, ‘उहाँले आदेशका विषयमा उठान गर्नुभएको विषयले अदालतको अवहेलना भएकाले कारवाहीको माग गर्दै निवेदन दर्ता भएको हो ।’
उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भइ काठमाडौं महानगरपालिका ३१ बस्ने दिलबहादुर राईले उक्त निवेदन दर्ता गराएका हुन् । रवि लामिछानेलाई समेत प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्कीका जिल्ला न्यायाधीश नीतिज राईले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएपछि त्यसविरुद्ध त्रिपाठीले आलोचना गरेका थिए । सोही विषयलाई लिएर उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।
उनको अभिव्यक्तिप्रति न्यायाधीश समाजले समेत बिहीबार बिज्ञप्ति प्रकाशन गरी खेद व्यक्त गरेको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीले न्यायलयप्रति भ्रम र अनास्था फैलाउने काम गरेको न्यायाधीश समाजको टिप्पणी छ । बिज्ञप्तीमा भनिएको छ, ‘..वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरे बमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरण विपरीत हुने गरी आदेश गर्ने न्यायाधीश उपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चारमाध्यममा अन्तरवार्ता दिएको देखियो । वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिका प्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ,’ विज्ञप्तीमा छ ।
थुनछेक बहसका क्रममा सहकारी पीडितका तर्फबाट बहस गरी निस्किएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात समेत भएको थियो । जसमा प्रहरीले तीन जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।